अष्ट्रेलिया ,सपना र कोरोना

नेपाल दर्शन
२२ भाद्र २०७८, मंगलवार

प्रजुना पोख्रेल

ठुलो सपना, थुप्रै रहरहरू अनि आशाका किरणहरू बोकेर म आफ्नो पढाई अनि सपना पूरा गर्न अष्ट्ेलिया गएकी थिएँ। म जस्ता थुप्रै आँखाभरि सपना बोकेर,केही बन्ने लक्ष्य लिएर  आमाबाबाको सपना अनि आफ्नो सुन्दर भविष्य निर्माण गर्न हिँडेका विद्यार्थीका  पाइलाहरू  अस्ट्रेलियामा यत्रतत्र देखिन्छन् अनि भेटिन्छन्। म पनि तिनै पाइलाहरूका बिच पदचिह्न जोड्दै हिँड्ने मध्य एक थिएँ । मलाई थाहा थिएन अझ भनौँ महसुस गरेकी थिइन त्यो ठाउँमा सपनाहरू पूरा गर्न त्यति सहज थिएन । आफ्नो आमा-बाबा, भाइ बहिनीबाट टाढा रहेर अहोरात्र काम र पढाइ निरन्तर गरिरहनु पर्थ्यो । शारीरिक पीडा भन्दा पनि भावनात्मक पीडाले अझ बढी पीडा दिदाेँ रहेछ यो ध्रुव सत्य कुरा नै हो जुन म निरन्तर मशसुश गरिरहन्थेँ। त्यो यस्तो ठाउँ हो जहाँ हरेक गल्लीमा भिडभाड तीव्र हुन्छ तर त्यही भीडमा एक्लो भएर हिँड्नु पर्छ । भीडहरू बिचको एकान्त; मान्छेहरू बिचको शून्यता; भावबिचको अभाव अनि अभावबिचको भाव हरेक हरेक कुरा सहजै अनुभव भईरहन्थ्याे।  म परिवारबाट जति नै टाढा भए पनि खुसी हुन खोज्थेँ।  कलेजले त केवल किताबी कोर्स मात्र पढाउँथ्यो तर परिस्थितिले अनि जिन्दगीले नै वास्तविक पाठ पठाइरहेको हुन्थ्यो ; सिकाइरहेको हुन्थ्यो । आफ्नो खुट्टामा कसरी उभिने  , मिहिनेत के हो,  परिश्रम के हो , पसिनाको मोल के हो , भोक, प्यास कस्तो हुन्छ , थकान पछिको निन्द्रा कति प्यारो हुन्छ यी कुरा सिक्दै गर्दा दिनरात हाम्रो लागि पसिना बगाउने बाबा आमाका पसिनाले निकै पोल्थ्यो । कति फरक रहेछ  बाबाआमालाई यो चाहियो त्यो चाहियो भनेर माग गर्न र  त्यसलाई आफ्नै कमाइले पूरा गर्न ।  बाबा-आमाको त्याग , आफ्ना बालबच्चाको सपना पूरा गर्न आफ्ना सपनालाई तिलाञ्जली दिन सक्ने त्यो आँट लाग्छ संसारकै बलियो त्याग हो ; संसारकै नि:स्वार्थ भाव हो। मैले सानै देखी मेरो बाबाले गर्नु भएको दुःख, त्याग, बलिदान देख्दै आएकी थिएँ , आफू घरकी जेठी छोरी भएर पनि होला मैले म आफ्नो मात्र नभएर आमाबाबा, भाइ, बहिनीका सपना पूरा गर्ने किस्सा बन्नुपर्ने थियो। त्यसैले पनि होला मैले म आफू जति नै कमजोर भएको महसुस गर्दा पनि आफूलाई सम्हाल्थेँ; आफैलाई सम्झाउँथेँ । लाग्थ्यो म आफै कमजोर भएँ भने मेरो बाबा आमाको तागत को बन्छ ? उहाँहरूको शक्तिको केन्द्र को बन्छ ? मेरा भाइ बहिनीको हौसलाको बन्छ ? उनीहरूको प्रेरणाको श्रोतको बनिदिन्छ ? मलाई यस्ता जिम्मेवार प्रश्नहरूले सजग बनाई रहन्थ्यो। भिडबिचको एकान्तमा पनि सपनाहरूको समूह बोकी आफूलाई शक्तिशाली बनाउन चाहन्थेँ। मनमा जतिसुकै पीडा अनि वेदना भए पनि अाेठमा मुस्कान लिएर हिँडिरहन्थेँ किनकि मलाई थाहा थियो ‘यो कलियुग हो यहाँ अक्सर मान्छेहरू दुःख पीडामा नुन चूक छर्कन तम्तयार अवस्थामा रहन्छन् , कमजोर बनाउन हरदम प्रयासरत भई रहन्छन् ।’ मलाई संसार जित्नुभन्दा पनि बस् आफ्नो सपनाको संसारमा राज गर्नु थियो आमाबाबाका सपनाहरू पूरा गर्नु थियो जुन पूरा गर्न मैले दह्रिलो आत्मविश्वास र मुस्कानलाई बलियो हतियार बनाएँ। जुन हतियार बोकेर त्यो बिरानो परदेशमा तातेताते गरिरहेँ ।

व्यस्तताको बिचमा पनि  मलाई घरको खुब याद आउँथ्यो । आमाको हातले बनाएको खाना, बाबाले गर्नु भएको माया अनि संरक्षण मैले मिस गरिरहन्थेँ । मलाई केही हुँदा रात भरि म सँगै बसेर स्याहार गर्ने आमाको हात र कति बेला निको हुन्छ भनेर रातभर ननिदाई हेरिरहने आमाका ती आँखा सम्झँदा अनायास आँसु बर्र झलिहाल्थ्याे । म स्कुल, कलेज अनि जुन ठाउँमा जाँदा पनि बाइकमा बाबासँग जान्थेँ । ट्रेनमा हिँडिरहँदा पनि कहिलेकाहीँ त अनायास “बाबा”  भनेर अगाडीकाे सिटको मान्छेलाई बाेलाउदि रहेछु । मलाई अचम्म लाग्थ्यो, मलाई दुख लाथ्याे ; एउटा मनमा प्रश्न खेलिरहन्थ्याे- “मैले अाामाबाबालाई छोडेर यहाँ किन आएँ?” फेरि अर्को मनले सम्झाउँदै उत्तर दिन्थ्याे-” आफ्ना सपना अनि बाबाआमाको सपना पूरा गर्न आएँ”। मलाई दह्रिलो बनाइहाल्थ्यो पूरा गर्नुपर्ने आफ्ना अनि आमाबाबाका सपनाहरूले। कहिलेकाहीँ आफू अरू भन्दा पछि परेको महसुस हुन्थ्यो, मन पनि धेरै दुख्थ्यो पनि जब कोही बाट कठोर शब्दको प्रहार हुने गर्थ्यो , जब सोझो भएको फाइदा उठाइन्थ्यो , परदेशीको बिल्ला भिराईन्थ्याे।  नचिनेको मान्छेको कुरा छोडौँ आफ्नाहरूले गरेको व्यवहारले पनि पिडा दिन्थ्यो ,सबै आफ्नै आँखा अगाडि हुँदा हुँदै पनि सहेर अघि बढ्नु नै पर्थ्यो । त्यो यस्तो ठाउँ हो जहाँ आफ्नाहरू पराई बन्न खोज्छन् अनि कता कताबाट जोडिन आएका साथीहरू आफ्ना बन्दा पनि रहेछन् । असल साथीको साथले अघि बढ्न निकै महत्त्व कायम गर्छ ।यो मामिलामा कमसेकम भाग्यमानी नै ठान्थेँ । लाग्छ संसारमा कुनै सुरक्षित ठाउँ यदि कहीँ छ भने त्यो आमा बाबाको काख नै हो जहाँ सन्तानहरू निकै सुरक्षित र आनन्दित महसुस गर्न पाउँछन् । 

कति दुख हुँदो रहेछ विद्यार्थी जीवनमा भन्ने कुरा मैले त्यहाँ हुँदा बुझेँ । बिहान उठेर ब्रेकफास्ट खाने समय पनि हॅुदैनथ्यो, हतार हतार ट्रेन छुट्छ भनेर दौडेर जाँदा फेरी अोप्पलमा पैसा नभएकोले हाल्दा हाल्दै १/२ मिनेटले गरेर ट्रेन छुटेर काममा ढिलो पुग्ने सायद म मात्र थिइन होला । बेलुकी थाकेर घर आउँदा कहिले काँहि खाना नखाई सुत्नुपर्थ्यो। कोठा भाडा तिर्ने, कलेज फी तिर्ने , खाजा खाना सबै आफैले धान्नु पर्दा काममा नजाने त कुरा नै भएन । जीवन चलायमान बनाउनका लागि जुनसुकै अवस्थामा पनि आफूलाई काम अनि पढाइमा तयार बनाइ रहन पर्थ्यो यो मेरो मात्र कथा होइन व्यथा होइन यो समग्र नेपाली विद्यार्थीको यथार्थ पनि हो। दु:ख के हो , सङ्घर्ष के हो वास्तविक जिन्दगी के हो ? परिश्रमको महत्त्व के हो भनेर मलाई त्यहाँ रहँदा महसुस हुँदै थियो र बुझ्दै थिएँ ।बाबा, आमाको दुख, हाम्रो लागि गर्नुभएको त्याग, बलिदान, सङ्घर्ष आँखा अगाडि झल्कन्थ्यो , जति जति मिहिनेत म गर्दै जान्थे त्यति नै बाबा आमाप्रतिको माया अनि सम्मान बढ्दै जान्थ्यो । मलाई सानोमा हात समाउँदै लेख्न सिकाउने,ताते ताते गर्दै हिँड्न सिकाउने, संस्कार सिकाउने, शिक्षा दिने त्यो भन्दा पनि महत्त्वपूर्ण  जिन्दगी जिउन सिकाउने मेरा आमाबाबालाई म कसरी भुल्न सक्छु ? जिन्दगीका कुनै स्मृतिका पानाहरूमा उहाँहरू छुट्नु भो भने म अधुरो हुन्छु , अपुरो हुन्छु । “जति टाढा त्यति नै माया गाढा”  यो भनाइको तात्पर्य अझ बढी म बाहिर हुँदा महसुस गरेँ । पल पल घरलाई सम्झिएर म दिन रात कटाउँथे । म पढ्न भनी गएको आफ्नो पढाईलाई सकेसम्म राम्रो बनाउने प्रयास मबाट जारी नै थियो । कलेजको पढाइ अनि नियम हरेक कुरा समयमा अनि पूर्णरुपमा पालना गर्नुपर्थ्यो । नेपालको भन्दा पढाई फरक किसिमको हुन्थ्यो , theoretical भन्दा practical based हुन्थ्यो अनि assessment हरू टाइममा नै बुझाउनु पर्थ्यो । महँगो नै भए पनि नेपालको तुलनामा धेरै गुणामा शिक्षा क्षेत्र व्यवस्थित छ अस्ट्रेलिया  ।    ब्याजलर अनि भिजा थप्नको लागि फी जम्मा गर्दै थिएँ जुन मेरो कमाइको अधिकांश बचत गर्नु पर्थ्यो। घरबाट मगाउन नैतिकताले दिँदैनथ्याे अनि आफैँ कमाएर तिर्न अवस्था र त्यहाँको खर्चले व्यवधान गर्थ्यो र पनि म जम्मा गरी नै रहन्थेँ । घुम्न जाने, रमाइलो गर्ने कुरा भुलेरै कलेज फीको जोहो गर्न निरन्तर मिहिनेत गरिरहन्थेँ ।

 बाबा सँग मलाई २-३ मिनेट भए पनि हरेक दिन जस्तो बोल्नै पर्थ्यो । फोनमा बोल्दा नानी कहिले आउँछौ भनेर सोध्नु हुन्थ्यो , एक छिन त लाग्थ्यो मिल्ने भए गइहाल्थेँ तर फेरी सोच्थेँ पढाई सकाएरै जान्छु  । एक दिन रूममेट र मेरो कुरा चल्यो १ महिनाको लागि नेपाल जाने भनेर ,मन धेरै नै लागिरहेको थियो घर जान । वर्षाैकाे लागि न्यास्रो मेटाएर आउँछु सोचेँ अनि निर्णय गरेँ एक महिनाको लागि घर गएर आउँछु । दुवै जनाको यस्तै सोचाइ आयो सायद । हामीले निर्णय गर्याैँ  र  जाने आउने दुवै फ्लाइटको टिकट काट्यौँ । हामीले घरमा सर्प्राइज दिने भनेर कसैलाई भनेका थिएनौँ, त्यस्तै १ महिना बाँकी थियो होला, किनमेल गर्दै थियौँ । एक दिन मामुलाई सर्प्राइज दिन्छु, बाबालाई चाहिँ भन्छु भनेर बाबालाई फोन गरेर भने “बाबा म नेपाल आउँदै छु १ महिना ३ दिनको लागि ।”  बाबाको प्रत्युत्तरमा देखिएको खुसी मैले महसुस गरेकी थिएँ जुन कुराले मलाई अझ बढी खुसी बनाएको  थियो। बाबालाई त भनेँ तर मामु भाइ बहिनीलाई सर्प्राइज दिन्छु सोचेँ र भनिन किनकि उहाँहरूको आँखामा अनायासमा देखिने खुसी अनि हर्षमा डुब्न चाहन्थेँ ।  मन एकदमै खुसी थियो । हर्षले नाचिरहेको थियो ।लाग्थ्यो   म संसार कै सुन्दर ठाउँ जाँदै छु र त्यो हो मेरो घर। १ महिना ३ दिनको बसाइँलाई निकै नै यादगार बनाउने छु भनेर मैले सोचिसकेकी थिएँ । फेरी अस्ट्रेलिया फर्किएर आफ्नो पडाइलाई निरन्तरता दिनु नै पर्ने थियो । मैले कलेज अनि कामबाट बिदा लिइसकेकी थिएँ, मन निकै नै भावुक बन्दै गयो जब मैले आफ्नो देश नेपालमा पाइला टेकेँ। नभन्दै अर्काको देश र आफ्नो देशमा टेक्नुको मजा नै बेग्लै हुँदो रहेछ। अपनत्वको बोध नै फरक किसिमको हुँदो रहेछ ।मलाई देख्न बाबा चारै तिर हेर्दै हुनुहुन्थ्यो , जब बाबाले  मलाई देख्नु भयो निकै नै भावुक हुनुभयो अनि मलाई अङ्गालेर रुन थाल्नु भयो । हामी रोयौँ । खुसीले रोयौँ । म जब गेट खोलेर भित्र पसेँ, मामु मलाई देखेर अचम्मित हुनु भयो । गह भरि आँसु पारेर हामी आमा छोरी अँगालो मारेर रुन थाल्यौँ । म भित्र पसेँ मेरो सानो भाइ जो म जाँदा मात्र १ महिनाको थियो म आउँदा ऊ हिँड्ने अनि बोल्ने भैसकेकाे थियो । स्कुलबाट भर्खर आएको मेरो ठुलो भाइ अनि बहिनी पनि मलाई देखेर धेरै खुसी भए उनीहरू घुँक्क घुँक्क गरेर मलाइ अङ्गालेर रूॅदै थिए , म सँग त्यसरी न्यास्रिएको देख्दा घरमा हामी सबैको आँखा रसाएको थियो । आँसु आउँदा पनि खुसी र हर्षले भरिएको त्यो पल जिन्दगीको कुनै स्मृतिको पानामा पनि मेटिने छैनन् । बिछोडपछिको मिलन साँच्चै नै अनौठो हुँदो रहेछ उत्कृष्ट हुने रहेछ।

मेरो बसाई निकै नै प्रिय बन्दै थियो मन भित्र अब अलि दिन पछि त फेरि आफ्नो गन्तव्य तिर लाग्नु नै छ भन्ने लाग्थ्यो तर जति बस्छु धीत मरुन्जेल बस्छु वर्षौँको निम्ति याद जम्मा गर्ने गरी बस्छु साेचिरहन्थेँ। उता गएपछि अझै मिहिनेत गर्ने छु अनि आफ्नो पढाई सकाएर मात्र नेपाल आउने छु आफ्ना सपनाहरू पूरा गर्ने गरी नै आउँछु साेचिरहन्थेँ ।

समय बित्दै थियो । म फर्कने समय पनि नजिकिँदै थियो । मेरो परिवारसँग केही वर्षको निम्ति बसाई सकिँदै थियो । १० दिन मात्र बाँकी थियो म अस्ट्रेलिया फर्कन तर कहिलेकाहीँ नसोचेको भैईदिन्छ। विश्वमा सन्त्रास फैलियो ।कोरोनाको महामारीले विश्व आतङ्कित भैरहेकाे थियो ।अचानक विश्व ठप्प भैदियाे। बोर्डरहरू बन्द भए । लकडाउन हुन थाल्यो । दिनहरू बित्दै गए, महिना बित्न थाल्यो अनि वर्ष पनि बितिसक्यो । मेरा मनका सपनाहरूमा पनि कोरोना लागे  जस्तै निरीह बन्न लागे जस्तै भएका थिए । मलाई मेरो पढाइ पूरा गर्नु थियो। बिचमा नै छोडेको अस्ट्रेलियाको पढाइ बिचमा नै रोकिरहेको थियो । मेरो भविष्य, मेरो समय , मेरा सपनाहरू कोरोनासँगै पराजित भइरहेका थिए। डेढ वर्ष बित्यो तर बोर्डर खुलेन । मलाई मेरो देशमा नै केही गर्नु छ तर त्यसको निम्ति पनि पढाइ सक्नु नै पर्ने थियो ।लगभग सबै देशका बोर्डर खुले तर अस्ट्रेलिया खुलेन । म विद्यार्थी हुँ । मेरो भविष्य छ तर मेरो भविष्यप्रति र मेरो समयप्रति न नेपाल सरकारले चाँसाे दियो  नत अस्ट्रेलियन सरकारले ।  मेरो व्यर्थमा बितिरहेको समयको मेरो लगानीको जिम्मेवार को ? मेरो पढाइको जिम्मा अस्ट्रेलियन सरकारलाई छ तर वास्ता कसैलाई छैन । म प्रतिनिधि पात्र हुँ । म जस्ता “म”हरु कयौँ छन्  जसले दुख गरेरै आफ्नो पढाइ र भविष्यको निम्ति अस्ट्रेलियाको गन्तव्य रोजे ।  कतिपय कुरामा नेपाल बस्दा पनि कर काटिरहने अस्ट्रेलियन सरकारले हामी पढ्दै गरेका विद्यार्थीबारे किन चाँसाे देखाएन ? अनेक सपनाहरूले घचघच्याई रहन्छन् न पढाई सकिएको छ न त बाटो खुलेको छ । कोभिड छ र विकल्प पनि होलान् । कोभिड एउटा रोग हो, पढाइ एउटा राष्ट्रको नै भविष्य हो ।काेभिडसँगसँगै मानसिक स्वास्थ्य र विद्यार्थीको भविष्यप्रति किन निरीह बन्दैछन् सम्बन्धित  निकायहरू । मनमा अनेक प्रश्नहरू आउँछन् ।  म जस्ता कयौँ विद्यार्थीका यी प्रश्नको उत्तर कसले खोजिदिन्छ ?कसले दिन्छ ? प्रश्नहरू तमाम छन् ।अपसोच ! उत्तर छैनन् अनि भेटिँदैनन् ।

फेसबुक प्रतिक्रिया