हाम्रो स्वाभिमानले मनायो हरिद्वारमा भव्य हरितालिका महोत्सव २०७८

नेपाल दर्शन
२६ भाद्र २०७८, शनिबार

भारत। हाम्रो स्वाभिमान ट्रस्टले  पतञ्जलि हरिद्वारमा हरितालिका महोत्सव २०७८ मनाएको छ। पतञ्जलि युनिटको एक अङ्ग “हाम्रो स्वाभिमान ट्रष्ट” ले भारतमा रहेका नेपाली-भाषी भारतीय गोर्खाली तथा  प्रवासी नेपालीहरूका लागी मुख्य रूपमा काम गर्दै आइरहेको छ। 

स्वामी रामदेव एवं आचार्य श्री बालकृष्ण महाराजको प्रमुख आतिथ्यमा आयोजना गरिएको नेपाली महिलाहरूको महान् चाड “हरितालिका तिज २०७८” एक भव्य समारोहका बिच ०९ सेप्टेम्बरमा पतञ्जलिको मुख्यालय उत्तराखण्ड हरिद्वारमा सम्पन्न भएको छ।

कार्यक्रममा ख्याति प्राप्त नेपाली कलाकारहरू दिपा नारायण झा, बद्री पङ्गेनी, मञ्जु पौडेल,जुनु गौतमको बेजोड प्रस्तुतिको साथै स्थानीय कलाकारको पनि जोडदार सांस्कृतिक नृत्य प्रस्तुति रहेको थियो। 

“योग र सङ्गीतको जब मिश्रण हुन्छ, तब मनमा शान्ति,आनन्द र सन्तुष्टि मिल्छ” बाबा रामदेवले कार्यक्रममा आफ्नो शुभ-भाव राख्दै भन्नु भयो। साथै हरितालिका तीजको महिमालाई जोड दिँदै आचार्य बालकृष्णले बताउनुभयो “देशको सीमा हुन्छ, राजनीतिको सीमा हुन्छ तर सस्कृतीको हुँदैन, हामी नेपाली भाषा बोल्ने दुनियाँ भरी जहाँ रहे पनि हामी सबै नेपाली नै हो“।

उक्त कार्यक्रममा हाम्रो स्वाभिमान ट्रष्टको केन्द्रीय कमिटीको तर्फबाट केन्द्रीय महासचिव साध्वि दवादिति, प्रमुख संयोजक योग गुरु डा मोहन कार्की, ट्रस्टी राहुल कुवर, केन्द्रीय सचिव देवेन्द्र दत्त चौलागाइ, महिला संयोजक श्रीमती ललिता भण्डारी दत्त तथा खेल विभाग प्रमुख रतन मल्ल एवम् हाम्रो स्वाभिमानका सांस्कृतिक सचिव घनश्याम शर्माको विशेष भूमिका रहेको थियो।

त्यसै गरी हाम्रो स्वाभिमान दिल्ली प्रदेश अध्यक्ष अर्जुन भण्डारी, महासचिव तेजराम न्यौपाने साथै दिल्ली महिला समितिबाट अध्यक्ष अन्जु मल्ल तथा महासचिव मिनु भुसालको विशेष भूमिका रहेको थियो।उत्तराखण्ड प्रदेश महासचिव श्री हाबीजंग गुरुङ तथा श्री कल्याण सिंह राणाजी साथमा हाम्रो स्वाभिमान ट्रष्टका महिला समितिको विशेष भूमिका रहेको थियो। 

कार्यक्रमलाई वेद प्रकाश शर्मा तथा अन्जु थापाले सञ्चालन गर्नुभएको थियो।

फेसबुक प्रतिक्रिया