राष्ट्रकवि पुरस्कार-२०७८ कवि कविराजलाई

नेपाल दर्शन
२७ भाद्र २०७८, आईतवार

बुटवल-६ मा अवस्थित नवजागृति पुस्तकालयले नेपाली साहित्यका मूर्धन्य प्रतिभा आदिकवि भानुभक्त आचार्य, युवा कवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रकवि माधवप्रसाद घिमिरेका नाममा छ वटा साहित्यिक पुरस्कारको स्थापना गरेको छ । हरेक वर्ष सम्बन्धित कविको जन्म जयन्तीका अवसरमा प्रदान गरिने ती पुरस्कारमध्ये यस वर्षको राष्ट्रकवि माधव घिमिरे साहित्य पुरस्कार २०७८ असोज ७ गते राष्ट्रकविको जन्म जयन्तीका अवसरमा एक कार्यक्रमका बिच छन्दअभियान्ता कविराज पौडेललाई प्रदान गर्ने निर्णय भएको छ ।

कविराज यस क्षेत्रका निकै सशक्त र चर्चित छन्द कवि हुन् र उनले राष्ट्रिय स्तरमै योगदान पुर्‍याएका छन् । संस्कृतका वार्णिक छन्दलाई प्राचीन ग्रीक,ल्याटिन र अङ्ग्रेजीका छन्दसँग तुलना गर्ने कवि कविराज अनुसन्धाताका रूपमा पनि चिनिन्छन्।`अन्तर्राष्ट्रिय छन्द दिवस´ घाेषणाहेतु संयुक्त राष्ट्रसङ्घमा पत्राचार गर्ने तयारीमा रहेका कवि पौडेलले नेपालमै पहिलोपल्ट छन्दवादी समाज नेपाल नामक संस्था खोलेर र जिप्रकामा दर्तासमेत गरेर छन्दाेन्नयनका निमित्त काेसेढुङ्गाकाे कार्यसमेत गरेका छन्।

माधव घिमिरेको प्रेरणाबाट साहित्य सिर्जनामा लागेका कविराज घिमिरेको काव्य शैलीबाट निकै प्रभावित देखिन्छन् ।यिनका काव्य सौन्दर्य घिमिरेकै समकक्षी देखिन्छन्। उनलाई सो पुरस्कार दिने निर्णय संस्थाका अध्यक्ष श्री महेश्वर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गरेको कुरा सो संस्थाका वरिष्ठ सल्लाहकार तथा साहित्य समितिका संयोजक प्रा.डा.हिरण्यलाल ज्ञवालीले जानकारी गराए । सो समितिमा कृष्णप्रसाद कोइराला सहसंयोजक रहेका छन् भने त्रिविक्रम श्रेष्ठ, अम्बिका पौडेल र चक्रपाणि डुम्रे सदस्य रहेका छन् । संस्थाका अध्यक्ष श्री महेश्वरप्रसाद श्रेष्ठ साहित्य समितिका संरक्षक रहेका छन् ।

फेसबुक प्रतिक्रिया