मेयर ज्यु तपाईँको ग्रिन एजेण्डा के नि ?

नेपाल दर्शन
२७ बैशाख २०७९, मंगलवार

–विजय हितान
कोभिडको दुई वर्षे बन्दाबन्दीले निसासिएको  म  । चिडियाखानामा थुनिएको पक्षीसरह । लकडाउन खुल्नसाथ आफ्नो प्यारो स्वदेश भ्रमणका लागि उडिहालेँ । र पुगेको थिएँ मेरो गृहनगर वुटवल । यस भ्रमणमा मैले सँगालेका अनुभव र संघारमै आउँदै गरेको स्थानीय चुनाव  ३० वैशाख २०७९ को सन्दर्भलाई पारेर यो लेख लेखेको हुँ ।       मलाई लाग्छ यो स्थानीय चुनावमा वुटवलवासि आम मतदाताले खह्रोरुपमा नगरपालिकाका मेयर लगायत सबै उम्मेदवारलाई ‘तिम्रा ग्रिन एजेण्डा के छन् ?’ भनी प्रश्न गर्नुपर्ने देखिन्छ ।  जनताको सरोकार राख्ने त्यस्ता धेरै बिषयबस्तु मध्ये  पार्यावरण सरक्षण प्रमुख  बिषय हो   । जनताको सेवा गर्छु भनी उठेका ती उम्मेदवारका वातावरण संरक्षण र सम्वद्र्धनप्रति के कस्ता प्रतिवद्धता छन्, वुटवलवासिलाई अवगत हुन जरुरी छ । यो किन  र के का लागि जरुरी छ  भने मैले अहिले वुटवल क्षेत्रमा जे-जस्ता वातावरणीय समस्या देखेर र भोगेर फर्कें, ती अति नै कहालीलाग्दा थिए । 

चुरे पहाड र तराइको काखमा अवस्थित वुटवलको सडकका किनारहरुमा  धुलो तथा फोहोरको थुप्रो  भेटिनु । सडकमा ढल फुटेर त्यहिमाथि टेक्दै हतारमा आफ्ना काममा हिडीरहेका यात्रीहरु भेटिनु । तिनाउ र छत्तिस खोला जस्ता सहायक खोलामा ढल, प्लाष्टीकका झोला मिसिएको लेदो भेटिनु । खाना नपाएर गाई र साँढेहरुले कागजका कार्टन चपाइरहेको  दुश्यहरु देखिनु । लगातार बजाइने गाडिका हर्न र खाल्डाखुल्डि सडकको कारण घन्द्रयाङ घुन्द्रुङका ध्वनि सुनिनु । सडक विस्तार र ढल निर्माणकार्य पुर्णरुपम सम्पन्न नहुदा ढलमाथि कल्भर्ट नबनाइदा घरवाला, दोकानदार, र ग्राहकले भोग्नु परेको सास्तिको प्रतक्षदर्शि बन्नु । यी आम दृश्यहरुले  मेरा आँखा बिझाएका थिए, मेरो नाक थुन्ने गराएका थिए, मेरा कर्ण छेदन भएका थिए । 

फागुनको अन्त्यदेखि लाग्दो वैशाखसम्म मेरो भ्रमणको अवधि थियो । यस अवधिभरि एक थोपा वर्षा भएन । यति लामो खडेरीका कारण  जलवायु परिवर्तन नै हो । खडेरी पनि वुटवलमा विद्यमान धुवाँ धुलो उत्सर्जनको एक प्राकृतिक कारण थियो । तर यसलाई केही हदसम्म कृत्रिम तरिकाले नियन्त्रण गर्न सकिन्छ, निर्माणाधिन सडकमा पानी छ्यापेर ।  वुटवलका जुनजुन स्थानमा म पुगेँ हावा, नदीनाला र जमीन अति प्रदूषित अवस्थामा पाएँ । के जमिन के खोलानाला सबै प्लाष्टीक तथा निर्माण जन्य प्रदुषणले भरिएका  ।

वुटवलमाथिको आकाश जहिले पनि तुँवालो ले धुम्म । हो, मानिन्छ समग्रमा नेपालको वायुमन्डल भारत र चिनका उध्योग धन्दाले उत्सर्जन गरेका हिरत गृह्य ग्यासले प्रदुषित भएको हो । तर स्थानिय स्तरमै मानव उत्सर्जित धुलो धुँवाले पनि केहि हदसम्म वुटवलमाथिको आकास धमिलिनुमा भुमिका खेलेको छ । यसका प्रमुख कारण यातायातका साधन धुलौटे बाटोमा गुडाउनाले, पिच गरिएका बाटो पनि मर्मतसम्हार नगरिनाले, घर तथा बाटोघाटो निर्माणका लागि जथाभावी डम्प गरिएका गिट्टी, बालुवा, माटो, ढुङ्गाबाट उत्सर्जित धुलोले । 

चितवनदेखि बुटवल लाग्दा राजमार्ग स्तर उन्नतिका लागि डोजर र एस्काभेटरले खनेर उदाङ्गै छोडिएको रहेछ । बाँझो खेतलाई जोतेर छोडेजस्तै । ट्राफिक चाप अत्यधिक , चैतमासको गर्मी उत्तिकै । सिसाको झ्यालबाट बाहिर धुलोको कुहिरिमण्डलले केही देख्न सकिने अवस्था थिएन । लाग्थ्यो, धुलोको आँधी चलिरहेछ । बुटवल पुग्दासम्मै धुलोले छोडेन । बिचरा दायाँ बायाँका घर र सालका रुखहरू यीनको अवस्थालाई देखेर म भित्र एककिसिमको हतास उत्पन्न भएको थियो । 
धुलोमा PM2.5 र PM10 भनिने वैज्ञानिक नाम गरिएका सूक्ष्म कणहरू हुन्छन् । तिनले फोक्सोलाइ पुर्‍याउने असर विकराल हुन्छ । प्रदूषित हावाबाट वर्षेनी हजारौँ मानिसको मृत्यु हुन्छ होला वुटवल नगरपालिका भित्र । बजेट व्यावस्थापन राम्रोसंग गर्न नसक्दा होला वुटवलका सडक अर्ध सम्पन्न अवस्थामा छाडिएका । तिनवाट उडने धुलोलाई कम्तिमा निरन्तर रूपमा ट्याङकरद्वारा पानी छ्यापेर धुलोको नियन्त्रण गर्न त सकिन्थ्यो ।

चितवन-वुटवलको यात्रामा राजमार्ग छेउछाउका वनका रुखहरू खैरैखैरा मात्रै देखिन्थे । त्यस्तै खैरा देखिन्थे वुटवलमाथिका पहाडका रुखहरु । तिनका पातमा गएर बसेको धुलोको बाक्लो तहले प्रकाश संश्लेषण (फोटोसिन्थेसिस) प्रक्रियामा बाधा पुर्‍याउला भनेर अनुमान सहजै गर्न सकिन्थ्यो । यस्तो भयो भने, सूर्यको प्रकाश ग्रहण गर्न असमर्थ बनी आफ्नो खाना (ग्लुकोज) बनाउन नसक्ने र दीर्घकालमा रुख विरुवा नै मरेर जाने सम्भावना हुन सक्छ ।

बाङ्गा टेलिफोन र बिजुलीका पोल अनि तिनै पोलमा टाँसिएका राजनैतिक तथा व्यापारिक विज्ञापनका पोष्टर । अझ ती टेलिफोनका पोलमा जोगीका लट्टाजस्ता देखिने गुजुल्टी परेका टेलिफोनका तार । अनि एउटा पोलदेखि अर्को पोलमा टाँगिएका तुलहरू देख्दा मलाई हाम्रो ठुला ठुला राजनैतिक दलहरुको अवस्था  जस्तै कता कता आभाष भयो । 

वुटवलमा उत्पन्न घरेलु तथा व्यावसायका फोहोर खै कता लगेर डम्प गरिन्छ ? त्यो त देख्न पाइन मैले । नेपालका अन्य स्थानमा कतै कतै त्यस्ता फोहरलाई पुतपुत जलाइएको देखेको थिएँ । रिसाइकल गर्न सकिने फोहरलाई रिसाइकलिङ, गाडेर कुहाउन सकिनेलाई कुहाएर र सड्नगल्न नसक्नेलाई लेन्डफिल्डमा लगी गाडेर उचित विसर्जन गरिनु पर्छ । फोहोरमैलालाई व्यवस्थापन गर्न स्थानीय सरकारको ‘सार्वजनिक जग्गा’ छैन भन्ने सधैँ निउ हुन्छ । सडक, अस्पताल, वस स्टेशन इत्यादि बनाउन जनताको जग्गा हडप्न हुने सरकारले ल्याण्डफिल्ड निर्माण गर्न पनि जग्गा खरिद गर्न सक्थ्यो ।

वुटवलमा जाँड खाने भट्टी र होटेल, सपिङ गर्ने ठूलाठूला सपिङ महल, पार्टी प्यालेसहरु छन् । तर छैनन् टहलिने हरिया फूलबारी र पार्कहरू । छैनन् व्यायाम, हिँडडुल गर्ने खुल्ला चौरहरू । यसका लागि पनि जमीन नै छैन भनी वडाअध्यक्ष र मेयरहरूको गुनासो सुन्नुपर्छ । माथि उल्लेख गरेजस्तै सरकारले खाली जग्गा किनेर कम्तिमा प्रत्येक वडामा यस्ता संरचना निर्माण गरिदिनुपर्छ ।
उद्योगधन्दा, रेष्टुरेन्ट, होटेलबाट निस्कने फोहोर पानी र दिशा पिसाबको खुल्ला ढल अर्को खतरनाक वातावरणीय समस्याको रूपमा पाएँ । तिस चालिसको दसकका कुलोहरु अहिले सवै फोहरमैलाको ढलमा परिणत भैसकेका रेहेछन। ती खुल्ला ढल लामखुट्टेका लागि सुविधा सम्पन्न वासस्थान सावित हुन्छन् र तिनैले हो मलेरिया र झाडापखालाजस्ता महामारी निम्त्याउने । कीन वुटवलका राजनैतिक दल, सामाजिक अभियान्ता, र सरोकोरवालाहरुको चासो यतातिर नगएको होला ?  

वुटवल छँदा मलाई त्यहाँका होटेल रेस्टुरेन्टका चिल्ला शौचालय प्रयोग गर्न कस्तो कस्तो लागेर आउँथ्यो, मैले गरेको शौच आखिरमा जमिनमुनि र खोलामा गएर मिसिने त हो भनेर । हुनुपर्ने के हो भने, सर्वप्रथम फोहोर पानी ढलका सञ्जालमार्फत प्रशोधन केन्द्रमा पुर्‍याइनुपर्छ अनि मात्र प्रशोधित तरल पदार्थ खोलानाला अथवा जिमनमा विसर्जन गरिनुपर्छ । यसरी विसर्जन गरिएका फोहोरले न दुर्गन्ध उत्सर्जन गर्छन् न ती ग्रहण गर्ने वातावरणमा नकारात्मक असर पर्छ ।

आम मानिसहरुको मुखबाट मान्छेले जहाँ पायो त्यहीँ फोहोर मिल्काउँछन् भनेको मात्रै सुनेँ । तर आफ्नो दायीत्व के हो भन्ने मनन गरेको त्यति अनुभूति गरिन । योजना कानुन र एैन अनि नियमहरुहरु त एउटा माध्यम मात्र हो, आखिरमा जनता आफै सचेत हुन जरुरी छ । स्थानीय निकाय गैरजिम्मेवार हुदाँ फोहोर व्यवस्थापनका उचित संरचना नभएको कारण समग्र वुटवलबासीको स्वस्थ्य अत्यन्तै जोखिममा परेको देखे । बनेको कानुन र नियम कार्यनयन नहुदा, जनतालाई सुविधा सहजै उपलब्ध नगराइदिँदा फाल्ने नै भए फोहोरमैला जताततै । 
यसर्थ यो पल्ट वुटवलबासि हरेक मतदाताहरुले हाम्रो मान्छे भन्दा पनि राम्रो मान्छेलाई मतदान गरेर आफ्नो मत र लोकतन्त्रले प्रदान गरेको आफ्नो हक र अधिकारको सहीरुपमा सदुपयोग गर्नुहोला । नेपालको सविधानले आम नागरिकलाई स्वच्छ अप्रदूषित वातावरणमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । त्यसकारण यो स्थानीय चुनावमा मेयर लगायत ती हरेक उम्मेदवारलाई ‘वुटवल शहरमा स्वच्छ वातावरण कायम राख्ने ग्रिन ऐजेन्डा के छन् त ?’ भनेर प्रश्न राख्न नर्बिसनुहोस । ‘तपाईले जितेपछि माथि उल्लेख गरेका वातावरणीय समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ ?’ भनि प्रश्न गर्नुहोस । अनि उत्तर पाएपछि मात्रै आफ्नो अमूल्य मत खसाल्नुहोला  । 

वैशाख २०७९- फोक्सटन, केन्ट, युके

हितान बेलायतकाे वातावरण विभागमा अधिकृत पदमा कार्यरत छन् ।

फेसबुक प्रतिक्रिया

छुटाउनुभयो कि?

Sorry, No Posts are found.