रुद्राक्षबारे विज्ञान के भन्छ ?

नेपाल दर्शन
५ माघ २०७७, सोमबार

रुद्र भगवान् शिवकै एक नाम तथा आक्षको अर्थ आँसु हो । रुद्राक्षलाई कतै भगवान् शिवको आँसु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ ।

रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाइने एक प्रकारको वनस्पतिको बोटमा फल्ने घेरादार दाना हो । यसको दानामा हुने प्राकृतिक घेरालाई मुख भनिन्छ, हालसम्म एकमुखेदेखि एक्काईसमुखे रुद्राक्षका दाना फेला परेका छन् । एकमुखे रुद्राक्षलाई साक्षात् शिवस्वरूप मानिने भएकाले यो अमूल्य हुन्छ ।रुद्राक्षका विषयमा वैज्ञानिक अध्ययनसमेत भएका छन् भने थप शोध अनुसन्धान जारी छ । रुद्राक्षलाई नीलो संगमरमर पनि भनिन्छ । यसको रुख नेपाल, पूर्वोत्तर भारत, इन्डोनेसियाको जकार्ता एवं जावामा पाइन्छ । नेपालको रुद्राक्षलाई उत्तम मानिन्छ ।वनस्पतिशास्त्रमा रुद्राक्षलाई इलियोकार्पस गेनिट्रस भनिन्छ । गोलो, खस्रो, कठोर एवं लामो समयसम्म नबिग्रने रुद्राक्ष वास्तवमा एक प्रकारको बीज हो । पाँचमुखी रुद्राक्ष बढी संख्यामा पाइन्छ भने एक र चौधमुखी रुद्राक्ष दुर्लभ हुन्छ ।

प्राचीन ग्रन्थहरुमा यसलाई चामत्कारिक तथा दिव्यशक्ति स्वरूप बताइएको छ । मान्यताअनुसार रुद्राक्ष धारण गर्नाले मुटुसम्बन्धी समस्या, रक्तचाप एवं घबराहट आदिबाट मुक्ति मिल्छ । रुद्राक्षका विषयमा बताइएका चामत्कारिक गुण वास्तविक हुन् वा होइनन् भन्ने कुरा पत्ता लगाउने उद्देश्यले गरिएका आजसम्मका शोध कार्यबाट कतिपय गुणहरुको पुष्टि भएको पाइन्छ ।

वैज्ञानिकहरुबाट गरिएको बायो केमिकल विश्लेषणमा के देखियो भने रुद्राक्षमा कोबाल्ट, जस्ता, निकल, फलाम, म्याग्निजÞ, फस्फोरस, एल्युमिनियम, क्याल्सियम, सोडियम, पोटासियम, सिलिका एवं गन्धकजस्ता तत्व पाइए । यी तत्वको उपस्थितिका कारण रुद्राक्षको घनत्व बढी हुन्छ, फलतः यो पानीमा राख्दा डुब्छ ।पानीमा डुब्ने रुद्राक्षलाई सक्कली मानिन्छ । कतिपयको मान्यतामा यसलाई दुईवटा तामाको सिक्काको बीचमा राखियो भने यसमा कम्पन उत्पन्न हुन्छ । वैज्ञानिकका अनुसार रुद्राक्षमा ब्याक्टेरिया, भाइरस एवं फंगस प्रतिरोधी गुण पाइन्छ । कतिपयले यसमा क्यान्सर प्रतिरोधी क्षमता पाइने आँकलन गरेका छन् ।

फेसबुक प्रतिक्रिया