हामी तपाइँहरु माझ आयौं

नेपाल दर्शन
७ माघ २०७७, बुधबार

कोरोना महामारीको कारण सम्पूर्ण क्षेत्र अस्तव्यस्त भएको छ। महामारी नियन्त्रणको लागि परीक्षण, उपचार, जनस्वास्थ्यका मापदण्ड पालना गराउनेदेखि लिएर सबै जनतालाई सुरक्षित खोप दिने काममा सरकार व्यस्त हुने समयमा देशमा राजनैतिक संकट गहिरिएको छ ।महामारीको करम डर, चिन्ता, असुरक्षा तथा आर्थिक नोक्सानी व्योहोर्नु पर्दा आम नागरिकमा मनोसामाजिक समस्या देखा परेको छ ।लाखौँ व्यक्ति बेरोजगार भएका छन् भने साना ब्यबसायी आफ्नो पेशाबाट बिस्थापित भएका छन् । पर्यटन उद्योग थला परेको छ । समाजमा सहयोगी भावना खुम्चिदै गएको छ । यस्तो विषम परिस्थतिमा हामीले नेपाल दर्शन नामक अनलाइन पत्रिका सुरु गरेका छौं ।हजारौं अनलाइन पत्रिकाको भीडमा पृथक सोंच सहित आजदेखि हामी यहाँहरु माझ आएका छौं।

 देशको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन तथा पूर्वीय सभ्यताको प्रबर्धनमा प्राथमिकता दिएर हामीले पत्रकारिता मार्फत योह्दान दिने संकल्प गरेका छौं । स्वस्थ, सभ्य र सहयोगी समाजको निर्माण गर्नु हाम्रो दायित्व ठानेर बिबिध स्तरीय सामग्रीहरु हामीले पस्किनेछौँ । देश, भाषा, बेशभुषा, संस्कृति, परम्परा तथा आस्थालाई शीरमाथि राखेर हामीले काम गर्नेछौं । देशका पर्यटकीय स्थलको प्रचारप्रसार तथा बिबिध प्रकारका पर्यटनलाई प्रोत्साहित गर्ने हाम्रो अभिष्ट रहेको छ । 

हाम्रो यो अभियानमा लेखरचना, समाचार, बिज्ञापन आदि प्रदान गरेर सहयोग गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं। राष्ट्रियता, प्रजातन्त्र, जनताका मौलिक हक, मानव अधिकार, निष्पक्षताजस्ता आधारभूत कर्तव्यमा हामी चुक्ने छैनौं । देश समृद्ध भएमा मात्र हामी सबैको भलो हुन्छ भन्ने तथ्य हामीले हृदयंगम गरेका छौं ।

 – प्रधान सम्पादक

फेसबुक प्रतिक्रिया