धर्म के हो ?

नेपाल दर्शन
९ माघ २०७७, शुक्रबार

देवराज उपाध्याय

१. धर्म भनेको के हो ? किन धर्म मान्ने गरिन्छ ?

व्यक्ति वा वस्तुको प्राकृतिक स्वभावलाई नै धर्म भनिन्छ । धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव हो । आगोको धर्म तातो हुनु हो । पृथ्वीको धर्म गन्ध आउनु, बीउ उम्रिनु अनि हावाको धर्म सुकाउनु भनेजस्तै मनिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो । धर्म नहुँदा मानव मानव हुँदैन, दानव हुन जान्छ । मानव मानव नै हुन धर्म चाहिन्छ । सत्मार्गमा हिँड्नको लागि आत्मा परात्मा र परमात्माको समीपमा जान को लागि हामीले धर्म मान्ने गरिन्छ ।

२. विभिन्न चाडपर्वहरू मनाउने गरिन्छ के छ यसको धार्मिक मूल्यमान्यता ?

हाम्रा प्रत्येक चाड पर्वहरू मनाउनुको पछाडि विशिष्ट अर्थ र अन्तर्निहित उद्देश्य रहेको छ । त्यसको महत्त्व युगौँ युग देखि जस्ताको त्यस्तै रहँदै आएको छ । यी चाड तथा पर्वहरूको अध्ययनले हामी ,हाम्रो समाज र हाम्रो सामाजिकताको झलकलाई प्राचीन कालदेखि डोराएर ल्याएको छ । नेपाली समाज , नेपाली राष्ट्रिय एकता र अखण्डताको संवृद्धिको लागि यी चाड पर्वहरू महत्त्वपूर्ण खम्बाको रूपमा रहेका छन् । हाम्रो धार्मिक समन्वय र सामाजिक एकताको प्रेरक प्रतीक भएका छन् । हाम्रो सामाजिक सौहाद्तामा बेला बखत परेको खाडल पुर्दै ल्याएका छन् भने सामाजिक बनौटमा देखिएको मतभेद हटाउन मद्दत गरेका छन् । यिनको क्रियाबिधि विभिन्न रूपमा रहेको छ तर मूल्तत्व भने एउटै छ । त्यस कारण यी हाम्रा सांस्कृतिक सम्पत्ति भई हाम्रो धार्मिक ,सांस्कृतिक,सामाजिक र आध्यात्मिक मेरुदण्ड भई हामी नेपालीहरूको गौरवको रूपमा उभिएका छन् ।हामीमा मानवीय चरित्र निर्माण गराउनुमा यी चाड पर्वहरूको ठुलो योगदान छ ।

उत्पत्ति : हाम्रा चाड पर्वहरूको उत्पत्ति स्थानीय परम्परा, व्यक्ति विशेषबाट सृजना गरिएको संस्कृतिबाट भएको नभई सनातनी वैदिक धर्मग्रन्थ, विभिन्न धर्म सूत्र , पौराणिक कृत्य र आचार संहितामा उल्लेख गरिएका कृत्य हुन्। यिनलाई मनाउने शैली र नियम वैदिक र पौराणिक काव्यहरूमा उल्लेखित गरिएको देखिन्छ भने सूर्य , चन्द्र ,तिथि र वारको सम्योगात्मक र वियोगात्मक मानका रूपमा हाम्रा चाडपर्वहरू रहन पुगेका पाइन्छन् ।

महत्त्व : चाड पर्व मान्छे मान्छे बिच, मान्छे र प्रकृति बिच सामञ्जस्य राख्ने माध्यम हो । अझ भन्दा सम्पूर्ण ब्रह्माण्डको कल्याण चिताउने माध्यम हो । यसमा लौकिक कार्य र धार्मिक तत्त्व समावेश भएको छ । यसबाट हामीले हाम्रो जीवनमा सच्चरित्र निर्माण गर्न मद्दत पाएका छौ भने आफू जन्मिएको समाजको उन्नति गर्ने हौसला पनि पाएका छौ । आपसी भाइचारा, स्नेह सम्बन्ध, सदाचरण आदि गुण अभिवृद्धि गरी ईश्वर व संस्कृति प्रति श्रद्धाभाव जागृत गर्न यी चाड पर्वहरूको ठुलो महत्त्व छ ।

३. पूजा पाठ गर्नको लागि समेत भेदभाव गरिन्छ किन होला ?

बाहुनवाद भएर हो तर यो सबैमा लागू हुँदैन ।

४. अन्य देशहरूमा धर्म संस्कृतिप्रति कटिबद्ध हुन्छन् , नेपालमा त्यस्तो नहुनुको कारण के होला ?

हामी नेपालीहरू हिन्दु हौँ भनेर गर्वका साथ दुनियाँ लाई भन्छौ तर अहिलेको परिस्थितिमा हाम्रो हिन्दु धर्मको अस्तित्व मेटाउन को लागी विदेशी दलालहरू देखी लिएर हाम्रा देशका नेताहरू सम्म लागी परेका छन् यो कुराहरू हामीलाई थाहा हुँदा-हुँदै पनि हामी हाम्रो पवित्र हिन्दु धर्मलाई बचाउन बाट टाढिएका छौ र बचाउन चाहँदैनौँ किनकि हामीमा एकता छैन। हामी र हाम्रो भन्ने बिचार कसैमा छैन सबैमा म र मेरो भन्ने सोच मात्र छ त्यही कारणले गर्दा आज हाम्रो देशमा हिन्दु धर्मको अन्त्य गराएर विदेशीहरूले आफ्नो धर्मको प्रचारप्रसारलाई तीव्रताका साथ बढाएर आफ्नो धर्म स्थापना गरिरहेका छन् किनकि उनीहरूमा एकता छ आफ्नो धर्मको पहिचान विश्वमा फैलाउन चाहन्छन्  तर हाम्रो देशको जनताहरू आफ्नो स्वार्थलाई मात्र हेर्दछन् ।

आफ्नो देश र धर्म भन्दा पैसा नै सबै कुरा हो भन्दछन् यही नीच सोच राख्दछौँ हामी नेपालीहरू तर यो कुरा कसैलाई थाहा छैन कि जब देश र धर्म रहँदैन भने हामी र हाम्रो पहिचान रहँदैन भनेर अरू धर्मको मान्छेलाई हेर्नुहोस् । तँलाई घर बङ्गला दिन्छु र जिन्दगी भरी पुग्ने पैसा दिन्छु भन्नुस् उसले आफ्नो घाँटी कटाउँछ तर आफ्नो धर्म त्याग्न सक्दैन किनकि उ आफ्नो धर्ममा त्यति आस्था र विश्वास राख्दछ तर हामीहरू २/४ पैसाको लागि आफ्नो धर्म छोडेर अरू धर्मको पछि लाग्छौ । धिक्कार छ त्यसता नेपालीहरूलाई जो आफ्नो देश र धर्म लाई बेचिखानेहरू देखी त्यसैले आजदेखि हामी सम्पूर्ण नेपाली हरू एउटै मातृभूमिका सन्तान हामी दाजु-भ्याई हौँ र हाम्रो देश र धर्म एउटै हो त्यसैले यसको रक्षा हामी सबै मिलेर गर्नु पर्छ भन्ने सोच लिएर अघि बढौँ जित हाम्रै हुनेछ ।

५. चाडपर्वहरूमा प्रायः बलि चढाइन्छ , बलि चढाउनु राम्रो हो या होइन ?

नेपाली समाजमा व्यक्तिगत स्वार्थ (भाकल)देखि लिएर कुल, परिवार र समाजको हित हुने नाममा देवदेवीको मन्दिरमा बलि दिने कार्य चल्दै आएको छ । देवदेवीको नाममा दिनहुँ जसो हजारौँको सङ्ख्यामा पशुपक्षीको बलि दिइन्छ । पशुको महामेला भनेर चिनिने गढीमाई मेलामा मुसादेखि लिएर भैँसी, सुँगुर, बोका, कुखुरा र परेवाको बलि दिइन्छ । प्रत्येक पाँच पाँच वर्षमा आयोजना गरिने सो मेलामा लाखौँको बलि दिइन्छ । दसैँमा देवीको मन्दिरमा मात्र नभई घर घरमा पशु बलि दिने गरिन्छ । हाम्रो समाजमा विद्यमान रहनुका मुख्यतः तीन कारण रहेको देखिन्छ । पहिलो कारण अन्धविश्वास नै हो । अबोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुसी हुन्छन्, आफूले इच्छाएको पूरा हुन्छ भन्ने भ्रम जुन जनमानसले आफ्नो मन मस्तिष्कमा पालेका छन्, त्यही नै बलि प्रथा जस्ता कुप्रथाको मूल जड हो । पशु बलि अन्त्य गर्नका लागि सांस्कृतिक पुनर्जागरण कार्यक्रमलाई अभियान कै रूपमा लग्नु पर्ने आवश्यकता देखिन्छ । तर पशु बलि प्रथालाई सधैँ सधैँका लागि निमिट्यान्न वा उन्मूलन गर्नका लागि हामीले आफूभित्र रहेको कु प्रवृत्ति तथा अमानवीय गुणको बलि दिन सक्नु पर्छ ।

फेसबुक प्रतिक्रिया