परदेशीको शव पनि आफन्त र मातृभूमिलाई गतिलो उपहार हुँदो रैछ

नेपाल दर्शन
११ माघ २०७७, आईतवार

– मोहन खतिवडा

एक दर्जन भन्दा बढी पुस्तकका लेखक डा. रवीन्द्र समीरको यो पुस्तक “मृत्युको आयु” लामो प्रतीक्षा पछि प्राप्त गर्न सफल भए।सायद पुस्तक पब्लिकेशनको आकाशमुनि नरहँदै गर्दा कैयौँ त्यस्ता चाहेर पनि उपलब्ध गर्न नसकिएका या पढ्न चाहेर पनि नपाइएका पुस्तकहरू पनि छँदै छन् मनभरि।

समुन्द्रपारिको यो क्षितिजमा रहँदै बस्दै गर्दा कहिलेकहीँ त आफैलाई पुस्तक लाइब्रेरीबाट छुट्टिएछु जस्तै लाग्ने गर्छ।परदेशमा व्यस्तताको बाबजुद पनि फुर्सद अनि बिदाका समयहरू यस्तै राम्रा किताबहरू एक एक खोजेर सबै पढिसकौँ कि जस्तै लाग्छ। डा.रवीन्द्र समीरको यो पुस्तक “मृत्युको आयु” खोज्दा खोज्दा केही लामै समयको प्रतीक्षा पछि प्राप्त भयो।कता कता धेरै समय हराएकी प्रेमिका भेटे जस्तै लाग्यो।

पुस्तकका हरेक पेजका एक एक लघुकथाहरूमा एक पछि अर्को हुँदै नङ र मासुको जस्तै छुट्टिनै नहुने सम्बन्धहरू भेटिन्छन्।पुस्तकमा इन्द्रेणीका सात रङ्ग हुन्छन् भने झैँ विभिन्न रङ्ग भेटिन्छन्। मृत्यु शास्वत् सत्य हो।यसलाई कसैले टार्नै सक्दैन अनि न चाहेर लम्बिन्छ जीवन न नचाहेरै छोटो हुन्छ।मृत्यु सबैको समान हुन्छ तर मृत्युपछिको असमान कलेवर या शृङ्गार पटार भने मानिस पिच्छे फरक हुने गर्दछ।मृत्युको ओजनमा पनि झन् डर लाग्ने फरकपना देखिन्छ समाजमा।गरिबको मृत शरीर लास बन्दछ भने धनी या उच्च ओहदामा रहेकाहरूको त्यही मृत शरीरलाई यो समाजले पार्थिव शरीर आदि इत्यादि नामले पुकार गर्दछ।

पुस्तक पढ्दा यस्तो लाग्छ कि म दुनियाँका सारा कुराहरू एकैसाथ पढिरहेछु विज्ञान, धर्मशास्त्र,अर्थशास्त्र ,पुराण,मेडिकल,प्रशासन,कानुनका फरक पाटाहरू साथसाथै अरबी कानुन सम्पूर्णको विषयहरूको एकमुष्ट जानकारी पनि प्राप्त गर्न सकिन्छ पुस्तकमा। नेपाली परिबेसलाई यथार्थरुपमा चित्रण गरिएको एक सामान्य निम्नस्तरिय मजदुरको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हरियो पासपोट गलापासो बोकेर दुखद जीवनको सुखद आशा बुन्दै देशबाट रेमिट्यान्सको लागि लखेटिएको एक खाडी मजदुरको चित्कार पाइन्छ यस उपन्यासमा। उसले मनमनै भन्यो “आफ्नो गुण थाहा पाउन मृत्युको मुख देख्नु पर्दो रहेछ” समाजप्रतिको तितो यथार्थ हो यी पुस्तकका वाक्यांशहरू।बाँचुन्जेल-हे भगवान् ! गरिबले बाँच्नु नपरोस् भन्ने उसले मरेपछि भन्यो ,”हे भगवान् ! गरिबले कहिल्यै मर्नु नपरोस्।” परिवारले ठुलो मूल्य चुकाउनु पर्छ।यस्तै पिडाका भावहरूले लत्पतिएको छ यस उपन्यासमा।

सबै खर्च जोडेर नेपालीमा हिसाब गर्दा लगभग १० लाख खर्च निस्कियो।जीवन जस्तै मृत्यु कमजोर भएको भए ऊ बिरामी पर्दा १० दिराम नदिने साहूले मृत्युपछि १० लाख खर्च गर्ने थिएन। जीवनमा तोकेभन्दा दुईचार किलो बढी सामान हुँदा भन्सार लगाउँनेहरुले मृत्युपछि एक सय १० किलोको बाकसलाई समेत भन्सार माफी लेखे। समग्रमा यस उपन्यासमा एउटा गरिब मजदुरको खाडीमा मृत्यु पछि मृतात्माको कहिरन पाँईन्छ।जीवन रहुन्जेल आफ्ना इच्छा आकाङ्क्षाहरूलाई तिलाञ्जलि दिदैं मन मारेर बसेको उ मृत्युपछि जीवन जसरी मरिरहेको देखिन्छ।यस्ता अन्य थुप्रै बिषयबस्तुहरु छन् यस पुस्तकमा पढ्नै पर्ने। “पुरानो कोट लगाऊ नयाँ पुस्तक किन”थोरोको यो भनाई जब नयाँ र सेलेक्टेड पुस्तक किन्न र पढ्न पाइन्छ त्यस बेला म आँफु पनि नयाँ कोट किन्न भुल्लिने रहेछु सधैँ। अन्त्यमा लेखक डा.रवीन्द्र समीरज्यूलाई यो रिसर्चपूर्ण पुस्तकको लागि धन्यवाद भन्नै पर्छ ।

– टोकियो, जापान

फेसबुक प्रतिक्रिया