नयॉ प्रजातिको कोरोना भाईरसलाई पनि खोपले काम गर्ने वैज्ञानिकहरूको पुष्टि

नेपाल दर्शन
१३ माघ २०७७, मंगलवार

काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अमेरिकी औषधी उत्पादक मोडेर्नाले बनाएको खोप प्रभावकारी देखिएको वैज्ञानिकहरूले बताएका छन् ।

मोडेर्नाका वैज्ञानिकहरुले आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै संक्रामक कोरोना भाइरसको प्रकारसँग जुझ्न सक्षम देखिएको बताएका हुन् । 

प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्टलाई सो खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको हो।

यसबारेमा थप अध्ययन भने सो खोप लगाएका मानिसहरूमै जाँचमार्फत् गर्नुपर्ने बताइएको छ। दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारका लागि दोस्रो बुस्टर थप गरिने जनाइएको छ । 

पछिल्लो समयमा बेलायत र दक्षिण अफ्रिकामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको छ । तर बेलायतको भन्दा दक्षिण अफ्रिकामा देखिएको भेरियन्ट निकै घातक रहेको प्रारम्भिक अध्ययनहरूमा देखिएको छ । कोभिडका यी नयाँ प्रकार तीव्र गतिमा फैलिएका छन् । 

भाइरसमा यतिखेर देखा परेका विभिन्न बदलाव वा स्वरूप परिवर्तनले मानव कोशिकालाई महामारीको सुरुवाती समयमा भन्दा बढी सहज रुपमा संक्रमित पार्न सक्ने देखिएको छ । गत सेप्टेम्बरमा बेलायतबाट सुरु भएको नयाँ प्रकार ७० प्रतिशतसम्म थप संक्रामक रहेको पाइएको विज्ञहरुले बताएका छन् । 

फेसबुक प्रतिक्रिया