नारामै सीमित सहिद दिवस

नेपाल दर्शन
१६ माघ २०७७, शुक्रबार

काठमाडौं । विश्वमा हरेक राष्ट्रले आफ्ना वीर सपूत तथा सहिदहरूलाई उच्चकोटीमा राखी मूल्यांकन गर्छन्। जसले आफ्नो राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र जनताप्रति कुदृष्टि राख्नेको विरुद्धमा शारीरिक तथा मानसिक रूपले संघर्ष गर्दागर्दै इहलीला समाप्त गर्छ, त्यस्तो व्यक्तिलाई नै सहिद भनिन्छ। थोरै बाँचेर पनि आफ्नो अदभ्य जोस, जाँगर, सुरता, वीरता, रगत र पसिनाले आफ्नो मातृभूमिको सेवा गर्दागर्दै सहादत प्राप्त गरेका व्यक्तिहरू नै सहिद हुन् र उनीहरू नै युगयुगान्तरसम्म बाँचिरहन्छन्। जस्तै– बलभद्र कुँवर, भक्ति थापा आदि।

हाम्रो देशमा पनि यस्ता वीर सहिद हजारौंको संख्यामा छन्। उनीहरूले नेपाली जनता र नेपाल आमाको खुसीका लागि आफ्नो खुसी छाडेर गएका छन्। हाम्रो देशमा प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस राष्ट्रप्रेमीका लागि महत्वपूर्ण दिवस हो। उक्त दिवसको अवसरमा सहिदको बलिदानबाट प्रजातन्त्रको पुनस्थार्पना भएको हो भनेर फलाक्दैमा सहिदहरूप्रति राजनीतिक व्यक्तिहरूको कर्तव्य सम्पन्न भएको मान्न सकिन्न। सहिदगेट बनाउँदैमास सहिदहरूको फोटोमा माल्यार्पण गर्दैमाः सहिदहरूका नाममा एकमिनेट मौनधारणा गर्दैमा सहिद दिवसको सार्थकता हुँदैन। तर तिनै सहिदका परिवार बिचल्लीमा परी दयनीय अवस्थामा रहनुपरेको तर्फ हाम्रो दृष्टि नपुगेको हुन पनि सक्छ।

एक सय चारबर्से जहानियाँ राणाशासन समाप्त पारी प्रजातन्त्र ल्याउन र ३० बर्से निरंकुश पञ्चायती कालरात्रिको व्यवस्थासमेत लत्याई बहुदलीय व्यवस्था ल्याउन आफ्नो बुद्धि र विवेकको भ्याएसम्म मानवीय शरीरको कुनै पर्वाह नगरी छातीमा गोली थापेर ज्यानसमेत आहुत दिने वीर सहिदहरू नै सच्चा सहिद हुन्। सहिदहरूको सम्मान र संस्मरणस्वरूप सामाजिक एवं गैरसरकारी क्षेत्रबाट भएका र हुने गरेका काम सराहनीय छन्। अतः राणा शासनविरुद्ध प्राण उत्सर्ग गर्ने चार महान् सहिद गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज शास्त्रीलगायत ज्ञातअज्ञात सहिदहरूको सम्झनामा मनाइने सहिद सप्ताह पञ्चायती व्यवस्थाविरुद्ध लड्ने सहिदप्रति पनि समानान्तर रूपले समर्पित हुनु आजको आवश्यकता हो।

नेपालको इतिहास अध्ययन गरेर सहिदहरूलाई सम्झन खोज्दा थाहा हुन्छ– १९९७ साल माघको जाडोमा शुक्रराज र धर्मभक्तलाई रूखमा झुन्डयाइएकोस दशरथ चन्द्र र गंगालाललाई बाँसमा बाँधेर ठाउँठाउँमा गोली हानिएको। हुन त त्यसअगाडि पनि राणाशासनको विरोध गरेबापत जेलमै वा बन्दी रूपमै कृष्णलाल अधिकारी, खण्डमान सिंह, मैनाबहादुर खत्री आदि थिए तर सर्वप्रथम राजनीतिक दल गठन गरी क्रान्तिकारी गतिविधि चलाएकाले सहिद भएका थिए चारजना मात्र। त्यसपछि पनि जनसंघर्षले समयको साथसाथै व्यापकता प्राप्त गर्दै लगेकाले देशव्यापी संघर्षकै सिलसिलामा सयौं कार्यकर्ताले जेलजीवनको यातना भोगिरहेकाले २००७ सालसम्म राजबन्दीहरूले जेल टनाटन भरिएका थिए।

२००७ सालको संघर्षको फलस्वरूप राणा सरकारको पतन भई प्रजातन्त्रको उदय भयो। यही क्रममा २०१७ पुसदेखि २०४६ सालसम्म देशका विभिन्न भागमा सहादत प्राप्त गर्ने देशभक्तहरूको संख्या बढ्दै रह्यो। सरकारी तथ्यांकअनुसार नै यिनीहरूको संख्या झापादेखि बैतडीसम्मका ४८ जिल्लाका जम्मा २६८ जना पुगेको भए पनि पक्रिएका, थुनिएका, जेलभित्र वा बाहिर पिटिएर घाइते भएका मानिसको लेखाजोखा नै थिएन।

देशमा पञ्चायती व्यवस्थाको विरोध तीव्र रूपमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाकोे पहलमा देशभरि नै जनसंघर्ष सुरु भयो। २०४६ साल चैत २७ गते रातिदेखि २०४७ साल वैशाख १० सम्म सहिदहरूको संख्या ८१ र घाइतेहरूको संख्या एक हजारभन्दा बढी नाघेको तथ्यांक एउटा मानव अधिकार संगठनले दिएको भए पनि यसबारे सरकारी तथ्यांक हालसम्म प्रकाशित भएको छैन। यी वीर आत्माहरूका नामसम्म पनि संकलन गर्न नसक्नु दुःखलाग्दो भएको छ। यस्ता वीर सपूत अज्ञात सहिदहरूले खोजी गर्नु जरुरी छ। मुलुकमा यस्ता सहिदहरू नभएका भए आज पनि नेपालीले जनअधिकार र स्वतन्त्रता पाउने थिएनन्। ती सपूतले ज्यानको बाजी लगाएर तानाशाही प्रवृत्तिसँग सिंगौरी नखेलेका भए यो मुलुक यतिको पनि हुने थिएन। त्यसैले सहिदहरूको स्मृति मात्रले पनि हामीलाई कर्तव्यपथतिर डोर्याउन मद्दत मिल्छ। देशमा व्याप्त अराजकता, स्वार्थीपना, भ्रष्टाचार, अनियमितता, जनउपेक्षाजस्ता अनुत्तरदायी व्यवहारले सहिदले देखाएको बाटो हामीले भुलेको छ होइन भन्ने आशंका गर्न बाध्य पारेको छ। सहिदहरू जसले आफ्नो देशको स्वतन्त्रता र देशको रक्षाका लागि आफ्नो जीवनको बलिदान दिएस त्यस्ता व्यक्तिहरूका भावना र आकांक्षा बुझ्न आवश्यक छ।

सहिदको योगदानको चर्चापरिचर्चा सहिद दिवसका दिनमा मात्र गर्नाले यिनीहरूको योगदानको बयान सबैको मानसपटलमा रहँदैन। त्यसको गहिरो सम्झनाको लागि सहिद स्मारक, सहिद पुरस्कार, सहिद आबासगृह, सहिद स्मारिका, पुस्तिका प्रकाशित गर्नु, सहिदहरूका नाममा पार्कको स्थापना गर्नुपर्छ। उनीहरूको योगदानलाई वर्षमा एकपटक मात्र सम्झना गर्दैमा पुग्दैनः त्यसका लागि पलपल आदर–सम्मान गरी उनीहरूका इच्छा र आकांक्षाका अधुरा सपनालाई जीवन्त रूप दिनुपर्छ।

आजको हाम्रो प्रमुख दायित्व भनेको नै सहिदहरूको सपना साकार पार्नु हो। देश र समाजमा भएका राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रका विकृति र विसंगति निर्मूल पार्नु हो। सहिदहरूको रगतले लेखिएको हाम्रो गौरवमय इतिहासलाई अवलोकन गरी अज्ञान र अशिक्षाले तड्पिरहेका सहिदका परिवारलाई शिक्षाको उज्यालो घामले सिञ्चित गर्न रोजगारका अवसर दिलाउनुपर्छ। उनीहरूका सन्ततिहरूको उचित शिक्षाको संवद्र्धन र विकासका लागि अक्षयकोष स्थापना गर्नुपर्छ। यसले गर्दा सहिदका सन्तानलाई पढ्नमा प्रेरणा प्राप्त होस्। उनीहरूको मर्म, भावना र उद्देश्य बुझ्नका लागि विभिन्न सञ्चारमाध्यम जस्तैः रेडियो नेपाल, नेपाल टेलिभिजन, पत्रपत्रिकामार्फत सबैमा बोध हुन आवश्यक छ।

समग्रमा भन्नुपर्दा संसारका हरेक राष्ट्रिले आफ्ना वीर सपूत सहिदहरूलाई उच्चकोटीमा राखी मूल्यांकन गर्दै आएका छन्। त्यस्ता हिमायती, कर्मठ देशभक्तहरू जसले आफ्नो राष्ट्रिय अखण्डता जोगाउन ज्यानको पर्वाह नगरी शत्रुको गोलीसँग लडी अमरत्व प्राप्त गर्छन्। सुनौलो इतिहासका पानामा हराएका विश्वमै अनगिन्ती यस्ता व्यक्ति छन्ः जसलाई मरणोपूर्वाद्र्धमा लाञ्छना लगाइन्छ, देशद्रोही, राष्ट्रघाती आदि भनिने गरिन्छ। तर तिनै देशद्रोहीले मरणोपरान्त दिएको प्रेरणाको मार्ग पहिल्याइएपछि तिनलाई सहिद शब्दले पुजिन्छ। यसरी ती वीर सहिद धेरै इतिहासका पानाहरूका सुनौला अक्षरले कुदिएका छन्। इतिहासकारहरूले यस्ता महान् व्यक्तिको अनुसन्धान तथा खोजखबर गर्दै आएका छन्। यसको तात्पर्य के हो भोलिका भावी सन्ततिले यही मार्ग अवलम्बन गर्नुपर्ने हुन्छ।

सहिदहरू सबैका साझा सम्पत्ति हुन्। यस्ता अमूल्य सम्पत्तिको संरक्षण गर्नु र कदर गर्नु सबै क्षेत्रका जनता तथा राजनीतिज्ञहरूको संयुक्त जिम्मेवारी हो। वास्तविक भावना बुझेर यदाकदा रुमलिएका सहिदहरूको युद्धस्तरमा खोजतलास गरी सक्दो सम्मान गर्नु सबैको कर्तव्य हुन आउँछ। त्यसैले आजको प्रजातान्त्रिक वातावरणमा सबैले प्रजातान्त्रिक चरित्र निर्वाह गरी हाम्रा मुटुका ढुकढुकीलाई यथार्थरूपमा कदर गरी उनीहरूले पहिल्याएको बाटोमा अग्रसर हुन र भनाइअनुसार गराइमा परिणत गर्न सकेमा मात्र सहिदप्रति वास्तविक सम्मान गरेको ठहरिन सक्छ। अन्नपुर्णपोष्टबाट साभार

फेसबुक प्रतिक्रिया