सरस्वती पूजाको विशेषता र महत्त्व

नेपाल दर्शन
४ फाल्गुन २०७७, मंगलवार

देवराज उपाध्याय

श्रीपञ्चमी अथवा वसन्त पञ्चमी सनातन हिन्दुहरूको एक विशेष पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीलाई विभिन्न किसिम ले पूजा आराधना गरी मनाइन्छ । यो पर्व हरेक वर्ष माघ शुक्ल पञ्चमीको दिन पर्दछ ।

विभिन्न किंवदन्ती अनुसार सृष्टिको प्रारम्भिक कालमा भगवान् विष्णुको आज्ञाअनुसार ब्रह्माले जीवहरूको सृष्टि गर्नु भयो जसमा विशेष त मनुष्य योनीको रचनामा गरिसके पछि भगवान् ब्रह्मा खुसी हुन भएन वहाँलाई केही कुराहरूको कमी भएको भान भयो र फेरी विष्णुको अनुमति लिएर वहाँले आफ्नो कमण्डलुबाट जल पृथ्वीमा छर्नु भयो, पृथ्वीमा जलकण छरिने बित्तिकै कम्पन हुन थाल्यो । यसपछि वृक्षहरूका बिचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । यो प्राकट्य एक चतुर्भुज सुन्दर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरू दुई हातहरूमा पुस्तक र माला थिए । ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो ।

जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउन थाल्यो अथवा शब्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भनी नामकरण गर्नु भयो । सरस्वतीलाई बागेश्वरी, भगवती, शारदा, वीणावादनी र वाग्देवी, सरस्वती, शारदा, जगत् माता, कौमार, वरदायिनी, कामधेनु आदि हजारौँ नामहरूले पूजा गरिन्छ ।बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन्।

वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्टाउन सकेझैँ ठिक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ। संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य शुभ कार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन। विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आ आफ्ना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् ।

धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कित फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मन पर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, शफ्, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् । तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ । मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा विसर्जन गर्ने चलन देखिन्छ। सरस्वतीको सेवाले व्यक्ति हरेक क्षेत्रमा सफल हुने मान्नेता रहिआएको छ ।

सरस्वती पुजा बन्दना मन्त्र संस्कृत भाषामा

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना। या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥१॥

सरस्वती पुजा बन्दना मन्त्रको अर्थ नेपालीमा

जो विद्या की देवी भगवती सरस्वती कुन्द को फूल, चन्द्रमा, हिमराशि र मोती को हार को जस्तो श्वेत वर्ण को हुनुहुन्छ र जो श्वेत वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा वीणा-दण्ड शोभायमान छ, जसले श्वेत कमलमा आसन ग्रहण गर्नुभएको छ तथा ब्रह्मा, विष्णु एवं शंकर शङ्कर आदि देवताहरुद्वारा जो सदा पूजित हुन्, उनै सम्पूर्ण जडता र अज्ञानलाई दूर गर्नेबाली माता सरस्वती हामैा रक्षा गर्नुहोला ।

सरस्वती पूजा गर्दा प्रचलनमा रहेको सरस्वती बन्दना यस प्रकार छ

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती

फेसबुक प्रतिक्रिया