देश संकटमा फस्यो ,अब सबैले सोच्ने बेला आयो :पूर्वराजा शाह

नेपाल दर्शन
६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र नेताहरुको शासन प्रणाली मात्रै नभएको बताएका छन्। उनले प्रजातन्त्र जनतासँग जोडिएको सामाजिक जीवनपद्धतिसमेत भएको उल्लेख गरेका छन्। 

भोलि फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसका अवसरमा बिहीबार एक शुभकामना सन्देश निकाल्दै पूर्वराजा शाहले यस्तो बताएका हुन्। ‘अब सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ’, उनले भनेका छन्। 

उनले देश संकटमा फस्दै गर्दा अब सबैले सोच्ने बेला आएको पनि बताएका छन्।‘प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन, यो सामाजिक जीवनपद्धति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्र अटुट रहन्छ’, उनले भनेका छन्, ‘राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौँ? सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।’

पूर्वराजा शाहले निषेध र विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गएको टिप्पणी गरेका छन्। ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको हो। त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञा भएको छ’, उनले भनेका छन्, ‘निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपाली जनताले गरिरहेका छन्।’

नेपालमा प्रजातान्त्रिक विधि अघि बढोस् भन्ने सबैको चाहना भए पनि प्रजातन्त्र स्थापनाको ७० वर्षपछि पनि प्रजातन्त्रकै विवाद र द्वन्द्व भइरहेको पूर्वराजा शाहले बताएका छन्।

‘प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त छौँ, ग्रस्त छौँ’, उनले शुभकामना सन्देशको अन्त्यमा भनेका छन्, ‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो। जनताको आस्था, चाहना र जनभावना अन्तत अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्‍न।’

फेसबुक प्रतिक्रिया