मालपोतका कार्यालय प्रमुख ६ लाख घुससहित पक्राउ

नेपाल दर्शन
८ फाल्गुन २०७७, शनिबार

मालपोत कार्यालय बाराका कार्यालय प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख रुपैयाँ अतिरिक्त रकम (घुस) सहित पक्राउ गरेको छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै खनाल र बडाललाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनेर छिटो पास गराइदिने प्रलोभन देखाएर घुस रकम लिएको अख्तियारले जनाएको छ ।

‘सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने र उक्त काम गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीसँग ६ लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा दुवै जनालाई मिति २०७७/११/०७ गते जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित जर्गा होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया