राष्ट्रपति भण्डारीमा गुटको गन्ध आयो : नेतृ रामकुमारी झाँक्री

नेपाल दर्शन
९ फाल्गुन २०७७, आईतवार

सङ्खुवासभा : राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पक्षको पछि लाग्दा संविधान खतरामा परेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य नेतृ रामकुमारी झाँक्रीले बताएकी छन्। राष्ट्रपति भण्डारीमा गुटको गन्ध पनि आइरहेको पनि उनले बताइन्।

आइतबार पत्रकारको संक्षिप्त भेटघाटमा कुरा गर्दै झाँक्रीले भनिन्, ‘एउटा गुटले संरक्षण गरेर ल्याएको व्यक्तिले देश र जनताको भावना मर्म बुझ्न सकिनन्।’ राष्ट्रपति भण्डारी सिङ्गो देशको भए पनि गुटको पछि लाग्नु दुखद भएको उनको भनाइ थियो। राष्ट्रपति भण्डारीका कारण हिमाल, तराई पहाड र संविधानका सारा उपलब्धि गुम्ने खतरा पैदा भएको पनि उनले बताइन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सङ्खुवासभाले शनिवार खाँदबारीमा गरेको विरोध सभामा सहभागी हुन झाँक्री आएकी हुन्। राष्ट्रपति भण्डारीले संवैधानिक राष्ट्रपति भूमिका र नेपाली जनताको अभिभावक पूरा गर्ने नसकेको भन्दै उनले राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको बताइन्। 

संवैधानिक निकाय प्रधानमन्त्रीले केपी ओलीको भर्ती केन्द्र बनाएको पनि झाँक्रीको आरोप थियो। भनिन्, ‘राष्ट्रपति भण्डारी शीतल निवास छाडेर आउनुस् तपाईँसँग जनताका छोराछोरी प्रतिस्पर्धा गर्न तयार छन्।’ 

लोकतन्त्र र गणतन्त्रका लागि लडेर आएको स्मरण गराउँदै झाँक्रीले तानासाह केपी ओली केही दिनमै ढल्ने पनि दाबी गरिन्। 

फेसबुक प्रतिक्रिया