छोरीको सपना

नेपाल दर्शन
१० फाल्गुन २०७७, सोमबार

दुर्गा लोहनी

एउटी छोरीको डिग्री दोस्रो वर्षको परीक्षा सकियो। उसको सपना छ जागिर खाने। तर परिवार चाहन्छ , अब पढाइ सकियो बिहे गर्न ठिक्क बेला भयो। जागिर भन्ने कुरा विवाह पछि खाए पनि हुन्छ। केटो असल छ , जागिर खान पनि दिन्छन् रे! अब बेला पनि भएको छ के खोज्छेस् त? ऊ नाजवाफ हुन्छे । जागिर खान दिने भने पछि त राम्रै परिवार होला भन्ने लाग्छ । अनि विवाह हुन्छ।

भन्दा भन्दै त्यति सजिलै जागिर कहाँ पाइन्छ र? डिग्रीमा बाँकी रहेको थेसिस लेख्नको लागि लाइब्रेरी गएर पढ्नु पर्ने! बिहानै उठ, दैलोकसेर, सबैको कोठा कोठामा चिया! फेरि खानाको शूर एक्लै गर। तरकारी समेत केलाउने सहयोग पाउन्नन्। हतारमा खाना बनायो, ससुरा र छोरा पाटी अनि नन्दलाई एक टिपमा अनि सासूलाई अनि तेस्रो टिपमा आफू! पल-पल घडीको सुई घुमेसँगै जिन्दगीको बाटो घुमेको आभास हुन्छ । तर कसलाई भन्नू, के भन्नू? उता लाइब्रेरी जान हतार भयो थेसिस सक्नु छ , कति बेला काम सकेर पढ्न जानू?

खानपान सकेपछि जुठा भाँडा गर्नै पर्‍यो। तरकारी केलाउन त सहयोग नपाउने ठाउँमा भाँडा माझ्न साथी पाउने कुरै भएन। काम सघाउ पनि कसलाई भन्नू? सासूलाई पनि भन्न भएन। नन्द पनि कलेज जाने। आखिर घरमा को नै छ र? अनि घरको खाना बनाउने, सरसफाइ देखि अरू काम पनि त छैन नि! खाना बनाउने काम त बिहे अगाडि पनि त गरेको हो नि ! आमालाई पनि त काममा सघाएकै हो नि ! तर जिम्मेवारी के हो भन्ने कुरा बल्ल थाहा हुँदै छ। घडी हेर्दै काम सक्दा १२ :00 बज्यो। उफ्! कति बेला पढ्न जाने? साथीहरूले थेसिस लेख्न सुरु गरिसके । आफ्नो भने टाइटल पनि छानेको छैन। अझ त्यै माथि पाहुना आएको दिन पर्‍यो भने त झन् त्यो दिन के को लाइब्रेरी जानू, के को पढ्नु?

फेरि महिलाको जात अलिअलि शृङ्गार पटार गर्नै पर्‍यो। यसोउसो गरेर निस्कँदा पोैने एक हुन्छ ।लाइब्रेरी पुग्दा पोैने दुई । सबै साथीहरू अघि नै आइपुगेर आफुलाई चाहिने किताब निकालेर पढ्ने, छलफल गर्ने गरिसकेका हुन्छन् । उता ऊ भने बिहान भरि घरको काम, शारीरिक तथा मानसिक थकान लिएर बल्लतल्ल आइपुगेकी हुन्छे। साथीहरू जिस्काउन थाल्छन्। “ओहो तिमी ! बिहे पछि त घर छोड्नै मन लाग्दैन जस्तो छ नि? कति माया लागेको हो ?” यस्तै यस्तै भनेर जिस्काउँछन्। उसको मनको हुरी कसले देख्छ र? तर पनि हाँसेरै टारिदिन्छे। अनि आफुलाई चाहिने पाठ्यसामग्री खोज्दा खोज्दै घडीको सुईले साढेदुई भएको देखाउँछ। ओहो ! कति बेला पढ्नु ? के को बारेमा थेसिस लेख्नु दिमाग घुम्न थाल्छ। पाठ्यसामग्री सजिलै नपाइने शीर्षक छानेर पनि के गर्नु? एउटा दुईटा पुराना थेसिस , एकदुई वटा सम्बन्धित पुस्तक लिएर एउटा कुनाको टेबलमा बसेर यसो पढ्न थालेकी के हुन्छे, साथीहरू आइपुग्छन् र भन्छन्-” कति पढ्न सकेको हो भन्या ? हिँड खाजा खान जाऊँ।” उसले कति पढी कि नियतिले उसलाई पढ्यो त्यो त कसले बुझ्छ र? अनि कहिले भोक लागेको छैन भनेर टारिदिन्छे त कहिले खाजा खान क्यान्टिन तिर जान्छे। अनि फेरि आएर एकछिन किताब समाउन नपाउँदै पाँच बजिहाल्छ। उफ! समय पनि कति छिटो बितेको हो। अब पाँच बजे लाइब्रेरी बन्द हुन्छ । आज पनि केही पढिएन भनेर गह्रौं मन लिएर साथीहरूसँगै बाहिर निस्कन्छे। घर पुग्दा छ बज्छ।

जाडोको महिना छ बजे साँझ पर्न थालिसकेको हुन्छ। भित्र भान्सामा बत्ती समेत बलेको हुँदैन । बिहे नगर्दा कतैबाट आएपछि घुप्लुक्क सुतेर थकाइ मार्ने उसको बानी अब हतार हतार लुगा फेरेर भान्सातिर पस्ने भएकी छे । अनि बेलुकीको लागि फेरि उही खाना बनाउने र खुवाउने तयारीमा लाग्छे। नलागोस् पनि कसरी ? बेलुकीको खाना ढिला भयो भने जुठो भाँडा गर्न ढिला हुन्छ। फेरि भोलि चाँडो उठ्न सकिँदैन । सबै काम सक्दा रातिको दस बज्छ। अनि आज पनि यत्तिकै भयो भन्ने सोच्दै चिसो मन लिएर कोठामा जान्छे। उता घरका मान्छे हामीले बुहारीलाई जहाँ जान पनि स्वतन्त्रता दिएका छोैं भन्दै मख्ख हुन्छन् । अनि यता उसको जागिर खाने सपना….??

फेसबुक प्रतिक्रिया