प्रतिनिधिसभा पुनःस्थापना भए तमासाको राजनीति शुरु हुन्छ :प्रधानमन्त्री ओली

नेपाल दर्शन
१० फाल्गुन २०७७, सोमबार

कञ्चनपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने बताएका छन्।

कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताए। मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो।

‘देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ, उनले भने, ‘समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ।’ आफूले अदालतलाई धम्की नदिएको बताउँदै उनले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गरे।

अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उनले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताए। पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उनले बताए।

उनले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको जिकिर गरे। उनले भने, ‘अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ।  म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु।’ ओलीले जनतालाई समस्यामुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताए।

वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोरको कार्य अगाडि बढाउन सरकारले रु ९३ करोड रकम विनियोजन गरेको बताए। वनका कारण अड्किएको करिडोरको कार्य पूरा गर्नका लागि मन्त्रिपरिषद्को बैठकमा लगेर निर्णय गरी समाधान गरिने उनले बताए।

श्रम तथा रोजगारमन्त्री गौरीशङ्कर चौधरीले विकासको ढोका पश्मिबाट खुलेको चर्चा गर्दै औद्योगिक क्षेत्र स्थापनापछि यसले आर्थिक समृद्धिमा टेवा पु¥याउने बताए।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको कार्य पाँच वर्षभित्रै पूरा हुने बताए। उनले उद्योगलाई चाहिने विद्युत्, सडक पूर्वाधार, जग्गालगायत उपलब्ध गराइने जानकारी दिए। (रासस)

फेसबुक प्रतिक्रिया