अभागी आमा

नेपाल दर्शन
२२ फाल्गुन २०७७, शनिबार

-दुर्गा लोहनी

ती आमा कति अभागी होलिन्, जसको छोराले आफू राम्रोसँग पनि नहुर्कँदै एउटी बालिकाको बलात्कार पछि हत्या गरेको छ। ती आमा जसले आफ्नै हातले भात पकाएर खुवाएर स्कुल पठाएकी थिइन् , छोराको सुन्दर भविष्यको लागि । उनले कसरी सोच्न सक्थिन् होला र आफ्नो मुटुको टुक्राले कसैको घर अनि संसार यसरी उजाड पारिदिन्छ भनेर? त्यो छोराको मासुम अनुहार भित्रको क्रूर हत्याराको आकृति एउटी आमाले कसरी कल्पना गरून्? त्यो छोरो जन्मिँदा उनी पनि उत्तिकै खुसी भएकी थिइन् होला। मेरो कुल दीपक भनेर कति गोैरव गरेकी थिइन् होला! कति हर्षित थिइन् होला! पितृसत्तात्मक समाजमा एउटा छोराको जन्मले ल्याएको खुसी सायद आफन्त तथा इष्ट मित्रलाई भोज खुवाएर मनाएकी थिइन् होला। तर भोलिको कुरा कसले नै देखेको थियो र? पक्कै पनि त्यस दिन पनि स्कुलबाट आफ्नो छोरो घर फर्के पछि मातृत्वले भरिएर सुमसुम्याइन् होला। छोरालाई भोक लाग्यो भनेर ममताले भरिएको खाजा खुवाइन् होला। उनले कसरी कल्पना गरिन् होला र आफ्नो छोराले अरू कसैको काख रित्तो पारेर आएको छ भनेर?

जीवनको पूर्वाद्धमा नै आफ्नो पुुरुषत्वको दुरुपयोग गरेर अर्की आमाको मातृत्व उजाड पारेको त्यो क्रूर रूप कुन आमाले चिन्न सक्छिन् र? आफ्नो छोराको छद्म भेष नचिन्दा सम्म त उनलाई छोराप्रति कति गोैरव थियो होला? उनलाई के थाहा आफूले एउटा विषालु सर्प हुर्काउँदै छु भनेर..! जब उनको मुटुको टुक्राले यस्तो सोच्न पनि नसक्ने अपराध गरेको कुरा सुन्दा उनको मन कस्तो भयो होला? कसरी सम्हालिन् होला आफूलाई? पीडितको आमालाई सम्झाउन त छिमेकी गए होलान् । हुन त जो जो गए पनि उनको घाउ पुरिने वाला त छैन। तै पनि पीडित आमाले समाजको साथ त पाउँछिन् । तर अर्की आमा जो अपराधीको आमाको रूपमा चिनिनु परेको छ, उनलाई कसले सम्झाउने? सारा संसारले उनको छोरालाई फाँसीको माग गर्दा कति मुटु जल्दो हो? आखिर कोखीको घाउ हो , पक्कै पनि पीडा हुँदो हो। फेरि पनि उसले गरेको जघन्य अपराधको अगाडि उनले त्यो शब्द नसुन्नको लागि कान थुन्न देखि बाहेक अरू केही गर्न सक्दिनन्। अनि कतै आफूले हुर्काउँदा कहाँ नेर गल्ती भयो भनेर पक्कै पनि पछाडि फर्केर हेर्दि हुन्…!!

तर समय बितिसकेको छ । अब चाहेर पनि उनले उनले केही गर्न सक्दिनन् । यदि उनको छोरालाई फसाइएकै हो भने पनि ती आमा अभागी नै हुन् र उनको छोरो अपराधी नै हो भने पनि ती आमा अभागी नै हुन्। यहाँ दुवै आमा वेदना फरक भए पनि उत्तिकै पिडामा जल्नु परेको छ। कसैको एक छिनको उन्मादले एउटी आमाको काख रित्तिएको छ भनेँ अर्की आमाले आफ्नो कोखलाई धिक्कार्नु परेको छ । त्यसैले अबको खाँचो भनेको छोरीलाई यस्ता घटनाको कसरी प्रतिकार गर्ने भन्ने कुरा सिकाउने र छोरालाई कुनै पनि महिलालाई नराम्रो दृष्टिकोणले हेर्ने होइन भनेर घरबाट र स्कुलबाट पनि नैतिक शिक्षा दिनु पर्छ। महिलालाई सम्मान गर्नुपर्छ , सबै महिला हाम्रा आमा समान हुन् भनेर शिक्षा दिनु पर्छ। किनकि नारीमा आमा जति पूजनीय अरू कोही छैन। त्यस्तै छरछिमेक तथा आफन्तसँग कुनै रिस राग छ भने पनि आफ्ना बच्चाको अगाडि कहिल्यै उनीहरूको बारेमा नराम्रो कुरा गर्नु हुँदैन ।

बच्चाको अगाडि अरूको नराम्रो कुरा गरेको छ भने बाल मस्तिष्कमा नकारात्मक असर पर्न जान्छ र उसले आवेगमा आएर जुनसुकै पनि नराम्रो घटना घटाउन सक्छ। त्यसैले आफ्ना बच्चाको अगाडि कहिल्यै पनि अरूको नराम्रो कुरा नगरोैं। हामी आफू पनि नैतिकवान बन्नु पर्छ र आफ्ना सन्तानलाई पनि नैतिकवान् बनाउने कोसिस गर्नु पर्छ । त्यसैले प्रत्येक आमा भाग्यमानी बन्नको लागि अहिलेको पिँडीलाई नैतिक शिक्षाको खाँचो छ। कुनै पनि आमा ” अभागी आमा” बन्नु नपरोस् ।

फेसबुक प्रतिक्रिया