नारी दिवस र नेपाली नारी

नेपाल दर्शन
२४ फाल्गुन २०७७, सोमबार
  • दुर्गा लोहनी

सन् १८५७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरको एउटा कपडा मिलमा महिलाहरुले संगठित भएर समान ज्यालाको लागि आवाज उठाएका थिए। त्यसैको परिणाम स्वरुप विभिन्न चरण हुँदै सन् १९१० देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालियो । शुरुका वर्षहरुमा फरकफरक दिनमा नारी दिवस मनाउँदै आएकोमा सन् १९१४ बाट हरेक वर्षको मार्च ८ तारिखमा नारी दिवस मनाउने निर्णय गरियो । सोही अनुसार सन् २०२१ मार्च ८ मा १११ ओ‌‌ेैं अन्तर्राष्ट्रिय नारी दिवस परेको छ। महिला सशक्तीकरण, लैंगिक समानता, विभेद तथा हिँसा उन्मुलन जस्ता सवालहरु अन्तर्राष्ट्रिय नारी दिवसका विषय वस्तु हुने गर्दछन्।

नेपालमा पनि सन् १९५९ देखि नियमित रुपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाईंदै आएको पाइन्छ । वर्तमान संविधानले लैंगिक आधारमा कसैलाई पनि विभेद गर्न नपाइने कुरा व्याख्या गरेको छ। तथापि अझै पनि महिलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने चलन अद्यावधिक छँदैछ । अझै पनि नीति निर्माण र निर्णयको तहसम्म महिला पुग्न नसकेको अवस्था छ। हाल स्थानीय निकायलाई पूर्ण अधिकार दिएको अवस्थामा पनि उक्त निकायहरूको प्रमुखमा महिला नेतृत्व पुग्न सकेको छैन। यसरी हेर्दा हामी किन र कहाँ नेर चुक्योैं त?

” यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता ” मनुस्मृतिमा लेखिएको यसको अर्थ हुन्छ -“जहाँ नारी पुजिन्छन् त्यहाँ देवता रमाउँछन्” । एकातिर हाम्रो शास्त्रले नारीलाई देवीको रुपमा पूजा गरेको छ भनें व्यवहारमा तिनै नारी जन्मन नपाउँदै भ्रुण हत्या गरिन्छन्। अनि अर्कोतिर तिनै नारीलाई बोक्सीको आरोपमा मलमुत्र खुवाइन्छ। हाम्रो समाजमा “बोक्सो” कोही हुँदैन । यहाँ बोक्सी मात्र हुन्छन् , आखिर किन?

घरेलुु हिँसा, बलात्कार , एसिड आक्रमण जस्ता जघन्य अपराधबाट पनि महिला नै पिडित छन्। अझ जो पिडित उसलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण नै फरक छ। जसले गर्दा पिडकको शीर ठाडो हुन्छ भने पिडितको शीर झुकेको हुन्छ। यो कस्तो बिडम्बना हो? अनि कहाँ गयो संविधानमा व्यवस्था गरिएको सम्मानजनक बाँच्न पाउने अधिकार ?

हामी यस्ता दोहोरो चरित्रबाट कहिले बाहिर निस्कने? एकातिर महिला सशक्तीकरणको लागि समानुपातिक जस्ता छुट्टै व्यवस्था पनि छ अनि अर्कोतिर घरधन्दा, चुलोचोैका, बालबच्चा सबको जिम्मेवारी पनि महिलाकै काँधमा छ। जागिरे महिलालाई झन् समय व्यवस्थापन गर्नै मुस्किल पर्छ। फेरि हाम्रो समाजमा पुरुषले घरको काम सघाउन हुँदैन। एउटी महिलाले बाहिर काम गर्दा यता घरधन्दा पनि भ्याउनै पर्ने अनि बालबच्चा पनि सम्हाल्नै पर्ने , अनि त्यो थाकेको मानसिकता लिएर अफिस पुग्दा त्यहाँ जिम्मेवारी पूरा गर्न कति कठिन पर्ला?

त्यसैले नारीलाई सम्मानजनक रुपमा अगाडि बढ्नको लागि प्रत्येक घर परिवारबाट नै पहल हुनु आवश्यक छ। यो कुरा पनि बिर्सनु हुन्न कि हामी पुुरुषबादी समाज त भन्छोैं, तर हेर्ने हो भने धेरैजसो घरपरिवारमा पुरुषबाट भन्दा महिलाबाट नै महिला पिडित छन्। अझ पुरुषलाई उक्साएर महिलालाई यातना दिन लगाउने पनि उनै महिला नै हुन्छिन् । साँच्चिकै नारी अगाडि बढ्नको लागि त्यसैले जबसम्म नारीनारी बीच एकता हुन्न पुरुषवादी सोच रहिरहन्छ । घरभित्रका हरेक काममा महिला र पुरुष दुबैको समान सहभागिताद्वारा महिलालाई पनि अगाडि बढ्न अवसर दिए मात्र नेतृत्व तहसम्म महिला पुग्न सक्छन् र साँच्चै नै देश विकास हुन्छ ।

फेसबुक प्रतिक्रिया