परिवर्तन कहाँबाट सुरु गर्ने ?

नेपाल दर्शन
३ चैत्र २०७७, मंगलवार

दुर्गा लोहनी

१११ औँ नारी दिवसको बारेमा सोच्दै थिएँ, हरेक क्षेत्रमा पुरुष नै अगाडि छन् । ठुला ठुला नीति निर्माण तथा नेतृत्व तहमा उनै छन् । आधा आकाश भन्दा बढी जनसङ्ख्या ओघटेको महिला किन अगाडि छैनन् ? छन् त केबल ओैंलामा गनिने जति मात्र । हामी फ्लोरेन्स नाइटिङ्गेल, इन्दिरा गान्धी, अनुराधा कोइराला आदि जस्ता नारीको नाम लिएर उदाहरण त दिन्छौँ । तर यस्ता उदाहरण सीमित मात्र छन् । यद्यपि पुरुषको उदाहरण दिनै पर्दैन । किनकि आधा आकाश महिलाले ढाके पनि निर्णय तहको पुरै जसो आकाश पुरुष वर्गले ढाकेको छ । महिलाको समस्या उठाउन महिला नै हुनुपर्छ । कसैले दिएको निगाहमा के को समस्या समाधान हुन्छ र? हुन त कतिपय उच्च पदमा महिला पुगे पनि महिलाका समस्याहरू जहाँको त्यहीँ छन् । 

आखिर नारी किन पछाडि परे त ? मेरो दिमागले प्रश्न गरिरह्यो । अनि मैले आफैँलाई नियालेर हेरेँ । के म घरकै पनि निर्णय गर्ने तहमा छु त ? बिहान देखि बेलुकी सम्मको क्रियाकलाप हेर्दा मेरो निर्णय भनेको भान्सामा के पकाउने, कति प्रकारका खाना बनाउने भन्नेमा मात्र रहेछ । आदर्शका कुरा छोडेर भन्ने हो भनेँ राजनीतिक कुरा देखि लिएर अन्य बाहिरी संसारका कुरा पुरुष सदस्यलाई नै धेरै जानकारी भएको पाउँछु । यस कुरामा बिस्तारै परिवर्तन भएको त छ, तर पर्याप्त मात्रामा छैन । आखिर किन यस्तो हुन्छ त ? एक छिन बसेर सोच्दा म लगायत म जस्ता कैयौँ महिलाको दिनचर्या भान्सामा नै बित्ने गर्छ । अनि त आफूलाई खाना बनाउनमा निपुण अन्य कुरामा अपूर्ण पाएँ । बाहिरी संसार बुझ्न त घरभित्रको काम घटाएर घरबाहिर निस्कनु पर्छ भन्ने लागिरह्यो । 

अनि यही नारी दिवसको अघिल्लो दिनमा आफैँले एउटा नारा बनाएँ –“घरबाहिर निस्क नारी, घरभित्रको काम पुरुषको पनि जिम्मेवारी”। अनि फेसबुकका केही ग्रुपमा पोस्ट गरेँ ।  धेरै जनाले मन पनि पराइदिनु भयो । एक दुई जनाले भनेँ घर भाँड्न खोजेको भनेर आरोप पनि लगाउनु भयो । ए बाबा ! एउटा सानो स्ट्याटसले नै भाँडिने कस्तो घर व्यवहार हो उहाँहरूको ? मैले के नै भनेको हो र ? घरको काम महिला पुरुष मिलेर गरौँ अनि महिलालाई पनि बाहिर निस्केर काम गर्ने अवसर मिलोस् भनेको मात्र त हो नि ! यति सानो कुरामा त समाजको पुरुषवादी सोच उम्लँदो रहेछ भनेँ परिवर्तन कसरी सम्भव होला ? हुन त समयको परिवर्तनसँगै महिलाले पनि बाहिर निस्केर काम गरेको त पाइन्छ । तर त्यो काम गर्नको लागि घरधन्दा सकेर जागिरमा जाने र फेरि आएर घरको काम गर्दाको पिडा त काम गर्नेलाई नै थाहा हुन्छ । हो, यस्तै अप्ठ्यारो पर्दा सघाउने भनेको हो । आखिर मिलेर काम गर्दा के जान्छ ?

यो पटकको नारी दिवसको नारा, “महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार” थियो । तर मलाई त आफैँले बनाएको नारा कार्यान्वयनमा ल्याउनु थियो । अनि घरमा अघिल्लै दिन कुरा राखेँ । किनकि परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ । यस किसिमको परिवर्तनको लागि परिवारको सहयोग र सहकार्य त हुनै प¥यो । तर त्यति स्पष्ट प्रतिक्रिया आएन । अनि कमसेकम नारी दिवसको दिनमा त मैले घरको कामबाट छुट्टी पाउनु पर्छ भनेर माग राखेँ । तर जवाफमा मौनता मात्र पाएँ । अनि खासै उपलब्धि हुन्छ जस्तो नलागे पनि झिनो आशा लिएर सुतेँ । 

भोलिपल्ट जसरी सूर्य आफ्नै गतिमा उदाए त्यसै गरी मैले पनि उही गतिमा बिहानको सम्पूर्ण काम गरेर दिनको सुरुवात गर्नु¥यो । नगरेर के गर्नू ? हाम्रो जस्तो पुरुषवादी सोचको बाहुल्यता भएको समाजमा बुढाले घरको काम गरेनन् भन्दा यो समाजले उल्टै त्यो भन्ने मान्छेलाई नराम्रो मान्छ । फेरी बच्चालाई भोक लाग्दा आमाको नै जिम्मेवारी हुन आउँछ । कुरा गर्दा सानो कुरा जस्तो तर यो घरधन्दाले हामी महिलाको सारा समय बिताइदिएको हुन्छ । महिला वर्ग बाहिर गए पनि घरको सारा काम सकेरै जानुपर्ने, तर पुरुष वर्ग भने जति बेला जहाँ गए पनि केहीले पनि नछेक्ने । वास्तवमा यो एउटा विडम्बना नै हो । 

जहिल्यै यस्तै हो भनेर हामी दुईचार जना साथिहरु एकठाउँमा भेट्ने कार्यक्रम बनायौं । घरमा सबैको पेट भरेपछि ढिला भैसकेको हुनाले म पनि परिवर्तन खोज्दै जुठाभाँडा त्यत्तिकै राखेर भेटघाट कार्यक्रम तर्फ लागें । नारी दिवस भएकोले हामीले पनि महिला स्वतन्त्रता र घरको काममा पुरुष वर्गलाई पनि सहभागि गराउनु पर्छ भनेर ठूला ठूला स्वरमा करायौं । तर त्यहाँ जति कराए पनि के गर्नु, घरमा बच्चालाई भोक लाग्यो होला भनेर फेरि हतार हतार घर आएँ । घरमा आउँदा बिहानको जुठाभाँडाले मलाई नै गिज्याएर बसिरहेको थियो । अघि भर्खर साथिहरुसँग गरेका कुरा कानमा गुञ्जँदै थियो । आखिर त्यो भाँडा माझेर गए पनि मेरै भाग थियो अनि राखेर गए पनि मेरै भाग थियो । सायद विधाताले नै निधारमा लेखिदिएको टिका थियो जुन चाहेर पनि मेटाउन सकिँदैन । कसले बुझ्छ र यस्ता कुरा ? अझ घरभित्र हामीले गर्ने काम त काम नै होइन जस्तो गर्छ यो समाजले । त्यसैले त घरको सम्पूर्ण काम जिम्मा लिएर बसेकी महिललाई के गर्छिन भनेर सोध्दा कसले पो घर सम्हालेर बसेकी छिन् भन्छ र ?

उता घरका पुरुष प्रतिनिधिको घरमा खाना खाएर हिँडे देखिको अत्तो पत्तो थिएन । कति आनन्द छ, न बच्चा भोकायो होला भन्ने पीर ? न अब गएर घरको काम गर्नु पर्छ भन्ने पीर? न घरको सरसफाइ गर्नु पर्छ भन्ने पीर ? घर फोहर भए पनि दोष पाउने नारी नै हुन्छे । हरेक पाइलामा जोगिएर हिँड्नु पर्ने । अब साँझ पर्न लागिसक्यो, त्यसैले खाना बनाउने शुर गर्नै प¥यो । अनि त “जे जे लगाए पनि नारा, घरको काम नारीकै अभिभारा” । फेरी उही पकाउ, खुवाउ, सरसफाइ, जुठाभाँडा, यस्तै यस्तै । अनि के को नेतृत्व, के को निर्णय अधिकार, कताको ज्ञान बढ्नु ? सधैं उही घरधन्दामा अल्झेको अल्झियै ! आखिर जति नै समानता भने पनि किताबको पाना र भाषणमा मात्र सीमित हो । थाहा छैन यस्तो परिवेशमा परिवर्तन कहाँबाट शुरु गर्ने ?

फेसबुक प्रतिक्रिया