बेड र अक्सिजन अभावलाई व्यवस्थित गर्न के गर्ने ?

नेपाल दर्शन
२७ बैशाख २०७८, सोमबार

– डा. रवीन्द्र पाण्डे,जनस्वास्थ्य विज्ञ 

कोरोना महामारी तीव्र गतिमा बढ्दै छ ।  सङ्क्रमितले फोन गर्दा कुनै पनि अस्पतालले बेड छ भनेर भन्दैन ।  यस्तो अवस्थामा निम्न लिखित तरिका अपनाएर यो परिस्थिति सहज बनाउन सुगम हुन्छ ।

 १. हरेक स्वास्थ्य संस्थामा अनिवार्य रूपमा ‘ फीभर क्लिनिक ‘ सञ्चालन गर्ने ।  हरेक नागरिकले पिसिआर पोजेटिभ आउने बित्तिकै नजिकको फीभर क्लिनिकमा जाने । 

२. फीभर क्लिनिकमा Triage गर्ने ।  अर्थात् सामान्य लक्षण देखिएका सङ्क्रमितलाई चेकजाँच गरेर आवश्यक औषधि लेखेर होम आइसोलेसनमा राख्ने ।  उहाँहरू र फीभर क्लिनिकबिच फोन संवाद जारी राख्ने ।  मोडेरेट लक्षण अर्थात् गाह्रो भएका व्यक्तिलाई आइसोलेसन केन्द्रमा राख्ने ।  छातीको एक्स-रे / सिटी लगायतका परीक्षण गर्ने ।  कोभिड निमोनिया देखिएको अवस्थामा अस्पतालको कोभिड बेडमा भर्ना गर्नको लागि फीभर क्लिनिकले सहजीकरण गर्ने ।  गम्भीर सङ्क्रमितलाई अस्पतालसँग समन्वय गरेर तुरुन्त अक्सिजन बेडमा पठाउने। 

३. यी ३ समूहमा जसलाई आइसियुको आवश्यकता पर्छ, उहाँहरूलाई आइसियुमा राखेर उपचार गर्ने । 

४. हरेक अस्पतालले कति वटा बेड खाली छन्, आइसियुमा कति बेड खाली छ, भेन्टिलेटर खाली भयो कि भएन ? यी विवरण नियमित अपडेट स्वास्थ्य मन्त्रालय / सिसिएमसी,आफ्नो वेबसाइट वा बुलेटिन तथा फीभर क्लिनिकको पहुँचमा राख्ने ।  यो विवरणको कडा अनुगमन तथा निगरानी गर्ने ।  सङ्क्रमितलाई यो विवरण अनुसार नजिकको अस्पतालमा व्यवस्थापन गर्ने । 

५. समाचार आतङ्कको कारण सामान्य कोभिड भएका सङ्क्रमित डर, चिन्ता तथा पेनिक अट्याकमा गएर अस्पताल जाने अवस्था विद्यमान छ ।  हरेक फीभर क्लिनिक तथा अस्पतालमा मनोपरामर्शको व्यवस्था गर्ने ।  सकारात्मक र वास्तविक समाचार सम्प्रेषण गर्ने / गराउने वातावरण निर्माण गर्ने । 

६. कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्सन्ट्रेटर छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने / गराउने ।  अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैंचो नियम अनिवार्य गर्ने । 

७. सङ्क्रमण नफैलिएका जिल्लाको औषधि / उपकरण / जनशक्तिलाई जीवन रक्षाको लागि आवश्यक अस्पतालमा एड्जस्ट गर्ने । 

८. सामाजिक संस्था, उद्योगपति, एनआरएन लगायतका संस्थाले जति सकिन्छ , अक्सिजन कन्सन्ट्रेटर सरकार, अस्पताल आदिलाई उपलब्ध गराउने वातावरण निर्माण गर्ने ।

 ९. जीवन रक्षक औषधि हरेक अस्पतालमा स्टक राख्ने ।  सो को विवरण आधिकारिक निकायमा उपलब्ध गराउने । 

१०. स्थानीय निकायबाट अप्ठ्यारो परेका परिवारलाई समान र ठोस राहत ( जस्तै ५० किलो चामल र ५ किलो दाल ) उपलब्ध गराउने । 

११. यो विषम परिस्थितिमा सङ्क्रमित तथा सङ्क्रमित परिवारलाई सक्दो सहयोग गरौँ ।  मानवताको उच्च उदाहरण बनौँ ।

फेसबुक प्रतिक्रिया