खान जान्यो भने विष पनि औषधि हुन्छ, जानेन भने औषधि नै विष हुन्छ

नेपाल दर्शन
९ जेष्ठ २०७८, आईतवार

‘खान जान्यो भने विष पनि औषधि हुन्छ, जानेन भने औषधि नै विष हुन्छ’ भनी हाम्रो चिकित्सावृत्तमा भन्ने गरिन्छ ।

के खाने, कति खाने, कुनबेला खाने, के नखानेजस्ता सवाललाई वैज्ञानिक मान्यता अपनाउने हो भने हामी रोगबाट बच्नेमात्र होइन भान्सामा खाएका कुराले औषधिको काम गर्नसक्छ र आरोग्य तथा दीर्घायु मिल्दछ । प्राणीमात्रको अस्तित्व आहारामा अडेको छ ।

संसारभरिका वैज्ञानिकहरू मानव शरीरकाबारेमा दिनहुँ नयाँनयाँ अनुसन्धान वा आविष्कारमा लागिरहेका हुन्छन् । नयाँ तथ्य सुनाउँछन् ।

डा. स्टेभ इलार्डी नामक क्लिनिकल मनोवैज्ञानिक भन्छन्, ‘मानव शरीरका वंशाणु कोशिकामा (जिनम) बाह्रहजार वर्षअघिको आधारभूत जैविक संरचना परिवर्तन भएको छैन, जुन जमानामा पृथ्वीका सबै मानिस शिकारी थिए । ‘

जीवविज्ञानको निष्कर्षमा हाम्रो शरीर अझै ढुङ्गे युगमै छ । जब ढुङ्गे युगको शरीरले आधुनिक वातावरण पाउँछ, शारीरिक परिणामहरू विध्वंशकारी हुने खतरा हन्छ नै ।

‘ढुङ्गे युगको शिकारी पेशामै मानिसले फर्किनुपर्छ भन्ने उनको आग्रह त होइन, तर मानिसले प्रकृतिबाट टाढा जानु हुँदैन । खानपानको सन्दर्भमा म यो कुरा जोड्दैछु कि भोक मेटाउन, खाएको कुरा पचाउन र थकाइ मेटाउने (निद्राका) कार्यमा हामीले प्राकृतिकपनलाई त्याग्न खोज्नु हुँदैन ।

नेपालीहरूको आधारभूत खाने कुरामा भात, रोटी, ढिँडो, चिउरा, दाल, सागपात तथा तरकारी, दुध, दही, घ्यू, मासु तथा अन्डा, माछा, फलफुल, कन्दमूल आदि पर्दछन् ।

मेथी, बेसार, जीरा, धनिया, अदुवा, लसुन, प्याज, हरियो खुर्सानी, हिङ, दालचिनी, तेजपातजस्ता हाम्रो खानामा मसलाको रुपमा आउँछन्, जो स्वास्थ्यको लागि अत्यन्त उपयोगी, औषधीय महत्व बोकेका मसला हुन् ।

तर धेरै भुट्ने वा तार्ने गर्दा यिनीहरूका गुण नष्ट भएर जान्छन् भन्नेतिर हामी कमै सोच्ने गर्छौँ ।

मासु सेवन गर्ने वा नगर्ने विषयले हामी शाकाहारी र मांसाहारीको रुपमा वर्गीकृत हुनाले मासु महत्वपूर्ण खाद्यवस्तु मात्र होइन, खानपानको वर्गीकरणको मुख्य आधार मानिन्छ । विश्व खाद्य तथा कृषि संगठन (एफ्एओ)को तत्थ्याङ्क अनुसार दक्षिण एशियामा मासु उपभोगमा पाकिस्तानपछि नेपाल नै पर्न आउँछ । पाकिस्तानमा प्रतिव्यक्ति वार्षिक सरदर १२ किलोग्राम मासु उपभोग हुन्छ भने नेपालमा १० किलो, त्यसैगरी श्रीलंकामा ६, भारतमा ५, भुटान र बंगलादेशमा ३,३ किलोग्राम मासु उपभोग गरिन्छ । चीनमा वार्षिक प्रतिब्यक्ति मासु उपभोग ५२ किलोग्राम छ । विश्वमा सबभन्दा बढी वार्षिक प्रतिब्यक्ति मासु खपत गर्ने मुलुकमा डेनमार्क १५६ किलोग्रामका साथ अग्रणी छ ।

स्वास्थ्यविज्ञानको दृष्टिकोणले मानिसलाई दुई दिनको अन्तरालमा ४० ग्राम मासु आवश्यक हुन्छ । किनकि जीवमा पाइने प्राकृतिक प्रोटिन, खनिजतत्व र भिटामिन–१२ अन्य वस्तुमा पाइन्न । दिमागको पूर्णक्षमता र डिमेन्सियाजस्ता रोगको सम्भावनालाई हटाउनका लागि यस्ता तत्वको आवश्यकता रहन्छ । अर्थात वनस्पतीय खाद्यवस्तुमा हुने प्रोटिन, खनिजतत्व र भिटामिनले मात्र मानव शरीरलाई पुग्दैन । यसको अर्थ शाकाहारीहरूले पनि मासु सेवन गर्न थाल्नुपर्छ भन्ने होइन । नेपालीहरूमा मासु उपभोग गर्ने तरिका सन्तुलित पनि छैन । पाएका बेला धेरैभन्दा धेरै खाने अघिपछि धेरै दिन शून्य, यस्तो किसिमले मासु सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक हुँदैन ।

एकताका समाचार आयो, नेपालका शहरी इलाका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र पोखरामा बिक्री गरिएको दूधका १ सय २० वटा नमूना केन्द्रीय खाद्य प्रयोगशालाले जाँच्दा सावधान हुनुपर्ने प्रतिजैविक ९एन्टीबायोटिक० तत्व फेला प(यो, जसमध्ये ६७ वटा नमूनाका दूधमा उपभोग गर्नै नहुने तत्व थिए ।

धेरै दूध दिने बनाउन भैँसीलाई लगाइएको ‘ओक्सासिलिन’, ‘पेनिसिलिन’, ‘एमोक्सिलिन’ आदि एन्टिबायोटिक तत्व दूधमा अत्यधिक भेटिएको थियो ।

यस्तो दूध नियमित उपभोग गर्दा बयस्कहरूलाई छाला चिलाउने, आँखा तथा पिसाब पोल्ने, हड्डी र दिमागका कोशिका नष्ट गर्ने, मिर्गौला र कलेजोको खराबीजस्ता समस्या, बालबालिकालाई स्वासप्रश्वासको समस्या, सामान्य खुराकको औषधीले बिमार निको नहुने जस्ता समस्या उत्पन्न हुनेगर्छन् ।

चितवन र काठमाडौँका कुखुराको मासुका ५० नमूना संकलन गरेर जाँच्दा ‘टेट्रासाइक्लिन’, ‘सल्फोनामाइड’, ‘पेनिसिलिन’, ‘एमिनोग्लाइकोसाइड’ जस्ता एन्टीबायोटिक तथा ‘माइक्रो लिड’ ९शिशातत्व० फेला परेको थियो । यो अवस्थामा अझै पनि तात्विक सुधार आएको देखिन्न ।

यस्ता समाचारले हामीलाई के चेतावनी दिन्छ भने मासु र दुग्ध पदार्थको उपभोगमा एकदमै विचार पु९याउनु पर्छ । जथाभावी किनेर खानु भनेको खाद्यपदार्थबाट रोग र काल निम्त्याउनु हो । यो समस्याबाट हामी अझै मुक्त छैनौँ ।

तरकारी र फलफूलको पनि प्रायः त्यस्तै हालत छ । भारतबाट आयातित अंगूर गुलियो भएपनि त्यसमा झिँगा, माहुरी, भुसुना घुमेको तपाईँ देख्नुहुन्न, किन रु अंगुरमा विषादि हालेर त्यसलाई बजारमा पु(याइएको हुन्छ ।

मेवा, केरा, आँप आदि फलफूललाई छिटो पकाउन कार्बाइड ग्यासजस्ता रसायन जथाभावी हालिएको हुन्छ ।

अंगुर किनेर नपखाली तुरुन्तै खाँदै हिँडेको देखिन्छ ।

आफ्नो सुस्वास्थ्यप्रतिको सचेतना र जिम्मेवारी होइन यो ।

फलफुललाईलाई पोटास–पानी तथा कागती–पानीमा डुबाएर, धेरैपटक धोएर र सकेसम्म बोक्रा फालेर खान सकियो भनेमात्र खतराबाट धेरै हदसम्म बच्न सकिन्छ ।

साँझको खाना राती अबेला खाएको, बिहानै खाली पेटमा चिया (कसैले चियासँगै चुरोट) पिएको देखिन्छ । स्वास्थ्य बिग्रिने ठूलो कारण यही हो ।

बिहान सबेरै उठ्ने, उठ्नेबित्तिकै खाली पेटमा मनतातो पानी २र३ गिलास पिउने, ब्यायाम वा पैदल भ्रमणलाई अनिवार्य बनाउने, पेट सफा नगरी कुनै कुरा नखाने, खाली पेटमा चिया नपिउने, निश्चित समयमा भोजन गर्ने, ‘जंक फुड’ सकेसम्म खाँदै नखाने, भुटेको वा तारेको खानेकुरा सकेसम्म कम गर्ने, खाना खाँदा तनाब, रोष, क्रोध, निरासा जस्ता नकारात्मक मानसिकता नलिने, अत्यन्त प्रफुल्ल मुद्रामा राम्रोसँग चपाएर खाने, जति धेरै बेर चपाएर खाइन्छ खाना त्यति नै राम्रोसँग पच्ने र अधिकतम शक्ति दिने हुन्छ ।

हिँउदमा साँझको भोजन साढे सात बजेसम्ममा र गर्मी याममा साढे आठसम्ममा गरिसक्ने, साँझको खानामा गरिष्ठ भोजन नगर्ने, सकेसम्म हल्का गर्ने, खाना खाएको कम्तिमा २ घन्टापछि मात्र सुत्ने, कम्तिमा ६ घन्टा पूर्णनिद्राका साथ सुत्ने, भोक, पाचन प्रणाली र निद्रालाई सुचारु गर्ने, खानासँगै अपनाउनु पर्ने यी केही अनिवार्य र साझा नियम हुन् ।

हामीले खाएका धेरैजसो मसलाहरूमा औषधीय महत्व छ । जस्तो जीरामा भोक जगाउने, खाएको पचाउने, मुटुको रोग, मधुमेह तथा पुरानो ज्वरोमा लाभकारी हुने वैज्ञानिक प्रमाणसिद्ध भएको छ ।

धनियाँमा खाएको पचाउने, खाना ताजा राख्न सहायक हुने, कोलेस्टोरल र ट्राइग्लिसराइड घटाउने, वीर्यवर्धक, इरानीहरूले अनिद्रा र चिन्ताको औषधिको रुपमा पनि लिने आदि गुण छन् । मेथीले मधुमेह तथा उच्चरक्तचापलाई नियन्त्रण र ठन्डी तथा एलर्जीका प्रकोपलाई ठीक गर्छ ।

ल्वाङ दाँतका समस्या, पाचन क्रिया, वाकवाकी आदिमा उपयोगी हुन्छ ।

आलसमा महत्वपूर्ण तत्व ‘ओमेगा–३’ हुन्छ, जसले रक्तनलीमा कोलेस्टोरल जम्न नदिने काम गर्छ ।

भनिन्छ, आलसमा क्यान्सर प्रतिरोधी २७ किसिमका तत्व रहेका हुन्छन् ।

यसको नियमित सेवनले ऊर्जा, स्फूर्ती र सौन्दर्य प्रबर्धन हुन्छ । सलगमको नियमित उपभोगले रक्तचापमा फाइदा पुग्छ । यसको जुस रक्तचाप नियन्त्रण र ऊर्जाका लागि महत्वपूर्ण छ ।

आलुले मधुमेह बढाउँछ भन्ने पुरानो मान्यता हो । यसमा भएको पोटासियमले रक्तचाप नियन्त्रण गर्नुको साथै क्याल्सियम तथा फस्फोरस पनि शरीरको लागि लाभदायक हुन्छ ।

कार्बोहाइट्रेड पनि भएको हुनाले यो अन्नको पूरक हो र तरकारी पनि हो । च्याउमा उच्चकोटिको प्रोटिन, फस्फोरस, क्याल्सियम, सोडियम तथा विभिन्न भिटामिन, खनिजतत्व, आदि हुनाले यो अत्यन्त स्वास्थवर्धक तरकारी हो ।

केरामा उच्च मात्रामा उच्चरक्तचाप घटाउन उपयोगी पोटासियम, रक्तसञ्चारलाई सहज बनाउने म्याग्नेसियम, सुक्रोज, उच्च क्यालोरीको ऊर्जा, प्रशस्त भिटामिन पाइन्छ । घाँटी दुख्दा वा स्वास गन्हाउँदा, गर्मी भएर शरीर पोल्दा सुकमेलको सेवन उपयोगी मानिन्छ ।

कालोजीरा उद्धीपक, भोक जगाउने, शिशुहरूका लागि महिलाहरूमा दूध आउने र महिलाहरूको मासिक स्रावमा उपयोगी हुन्छ ।

बेसारमा हुने उपयोगी करक्युमिन तेल तथा अल्ब्युमिनाइट्स्ले स्वास प्रशवासमा समस्या, एलर्जी, स्नोफेलिया तथा कफ ठीक हुने, दिमागका कतिपय समस्या, हृदयाघातको समस्या धेरै हदसम्म हट्ने, छालालाई फाइदा गर्ने हुन्छ ।

कागतीमा भिटामिन ‘सी’ हुन्छ । यसमा भएका अन्य तत्वहरूले पेट तथा छालाका समस्यामा फाइदा गर्छ, रगत शुद्ध गर्छ । खानाको विषाक्ततालाई नष्ट गर्छ । रगतमा भएको चिल्लोपदार्थ काट्छ । गिजा सुन्निने समस्या हट्छ । गर्मीमा झन् लाभदायक हुन्छ । कागतीयुक्त भोजन सन्तुलनकारी र स्वस्थकर हुन्छ ।

अदुवामा प्रोटिन, भिटामिन, कार्वोहाइड्रेट, फाइबर, तैलपदार्थ आदि पाइन्छ । यसको सेवनले पेटका समस्या, ग्यास्ट्रिक, रुघा–खोकी, दम आदि बिमारमा लाभदायक हुन्छ ।

अदुवा र महको मेल राम्रो हुन्छ । यसमा हुने सिनेकोल तत्वले तनाब कम गर्छ । क्यान्सर लागेर केमोथेरापी गरिरहेका बिमारीलाई अदुवा खान दिए वाकवाकी कम गर्नुका साथै अन्य फाइदा गर्ने प्रमाणित भएको छ ।

ताजा रातो खुर्सानीमा हुने प्रचूर भिटामिन ‘सी’ले विभिन्न फाइदा गर्छ र लाइकोपिन, बिटाक्यारोटिन, जिजेन्थिन जस्ता अन्य यौगिकले जोर्नीको दुखाई, क्यान्सरको समस्या, यौन समस्यामा उपयोगी हुन्छ । मान्नुहोस्, – प्याकिङ् गरिएका वा सडेगलेका चिजलाई छोडेर हाम्रा वरिपरि ताजा रुपमा पाइने यस्ता खाद्य वस्तुलाई चिनेर खाने गयौँ भने भोक मेटाउने र शक्ति बढाउनेमात्र होइन आरोग्य र दीर्घायु पनि मिल्छ । यस विषयमा जैविक वा वनस्पतीय विविधताका धनि, हामी नेपाली भाग्यमानी हौँ ।

(लेखक स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक हुनुहुन्छ।)

फेसबुक प्रतिक्रिया