कविता:मेरो नाम खोइ ?

नेपाल दर्शन
१३ जेष्ठ २०७८, बिहीबार

दुर्गा लोहनी

जब म जन्मेँ यो धर्तीमा फलानाकी भएँ नातिनी

हजुरबुवाको नामले चिनिँदा खुसी हुन्थेँ अति नै

अहो ! मेरो हजुरबुवा कत्रो नाम छ उहाँको

उहाँकै नाममा म अटाएँ मनै खुसी हुन गो

हजुरबुवाको नातिनीको साथै फलानाकी भएँ म “छोरी”

मेरो बुवालाई पनि सबैले चिन्थे हजुरबालाई जस्तै गरी

प्रतिष्ठा बुबाको पनि उस्तै थियो समाजका अगुवा

फलानाकी छोरी भनेपछि सबैले चिन्छन् क्या “नामी” मेरा बुवा

बिहे भयो जब अनि मेरो, म गएँ पराई गाउँमा

फलानाकी बुहारी भनेर चिन्दथे, मलाई त्यो ठाउँमा

ठुलै नाम रहेछ ससुराको पनि, सबैले उहाँलाई चिन्दछन्

म कति भाग्यमानी आहा † मलाई फलानाकी बुहारी भन्दछन्

ससुराको नामले चिनिनुका साथै, फलानाकी भएँ म “श्रीमती”

श्रीमानको नामले चिनिन पाउँदा, हर्षित हुन्थेँ म अति

हाँको डाको ठुलै थियो समाजमा मेरा पतिको पनि 

आफैँलाई चिनाउँथेँ अरूसामु, फलानाकी पत्नी हुँ भनी

छोरो जन्म्यो जब मेरो कोखबाट, फलानाकी भएँ म “आमा”

थाहा पाएँ बल्ल यो उमेरमा, मैले त हराइसकेछु नाम

जैले पनि फलानाकी भएँ म, भएनन् “मेरो” कोही

उमेरै बितिसक्यो तर मेरो, आफ्नो नाम खोइ ? 

मेरो नाम खोइ ? 

 

फेसबुक प्रतिक्रिया