न्यायका लागि ‘जस्टिस फर सविता’

नेपाल दर्शन
२४ जेष्ठ २०७८, सोमबार

काठमाडौं– यतिबेला सामाजिक सञ्जालमा ‘जस्टिस फर सविता’ टपिक भाइरल भएको छ ।

खासगरी टिकटकमा यो टपिकमा आधारित भएर सयौं सामग्री अपलोड भैरहेका छन् ।यसैगरी फेसबुक, ट्वीटर तथा इन्स्टाग्राममा समेत यतिबेला जस्टिस फर सविताले चर्चा पाइरहेको छ ।

वास्तवमा गत वैशाख ४ गते चितवनमा भएको एउटा आत्महत्याको घटना अहिले चर्चामा आएको हो ।उक्त घटनामा सविता भण्डारीले झुण्डिएर आत्महत्या गरेको दावी गरिएको थियो ।उक्त घटना घटेको झण्डै ढढ महिनापछि ‘जस्टिस फर सविता’ ह्यासट्यागमार्फत सयौं भिडियो तथा पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका हुन् ।

वैशाख ४ गते चितवनकको शारदा नगरपालिका–१९ की २८ वर्षीया सविता भण्डारी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।सविताको मृत्युको खबरलगत्तै काठमाडौंको कोटेश्वरमा रहेका उनका माइती पक्ष चितवन पुगे ।

सविताले आत्महत्या गरे कै भएपनि आत्महत्या गर्न बाध्य बनाइएको भन्दै माइती पक्षले यस विषयमा अनुसन्धान गर्न प्रहरीलाई जाहेरी दिए ।

माइती पक्षको जाहेरीपछि प्रहरीले सविताका श्रीमान् योगेन्द्रकुमार धिताल तथा ससुरा रमेश कुमार धिताललाई पक्राउ गर्‍यो ।चितवन प्रहरीका अनुसार सविताको पोष्टमार्टम रिपोर्टमा समेत आत्महत्या नै लेखिएको छ ।

त्यसैकै आधारमा तथा अन्य अनुसन्धानबाट पनि प्रहरी सविताले आत्महत्या नै गरेको निष्कर्षमा पुग्यो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यलयले तीनै जनाविरुद्ध चितवन अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दायर गर्‍यो ।

त्यही मुद्दामा जिल्ला अदालतले केही दिनअघि मात्रै ससुरा र श्रीमान् लाई १-१ लाख रुपैयाँ धरौटीमा रिहा गरेपछि सवितामाथि अन्याय भएको भन्दै सामाजिक सञ्जालमा ‘जस्टिस फर सविता’ टपिक भाइरल भएको हो ।

सर्वप्रथम उक्त घटनासँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपपछि यो घटना सतहमा आएको हो ।

सविताकी बहिनी सजनीले उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् ।भिडियोमा दिवंगत सविताका ससुरा रमेशकुमार धितालले सवितालाई यौनहिंसा गरेको देखिन्छ ।

उक्त भिडियो सार्वजनिक भएपछि समाजिक सञ्जाल प्रयोगकर्ताहरुले रमेशकुमारलाई कारबाहीको माग गदै ह्यासट्याग अभियान सुरु गरेका हुन् ।

अहिले माइती पक्षले सविताको हत्या भएको आरोप लगाएका छन् ।योगेन्द्र र सविताको ७ वर्षअघि मागी विवाह भएको थियो ।उनीहरुका पाँच वर्षका एक जना छोरा छन् ।

छोरा जन्मिएको केही समयपछि भने उनीहरुबीच खटपट सुरु भएको थियो ।सविताकी बहिनी सजनीका अनुसार सवितालाई उनका श्रीमान् ले कुटपिट गर्ने, दु:ख दिने गरेका थिए ।

त्यसपछि उनी प्राय: माइतीमै बस्थिन् ।पछिल्लो समय लकडाउनको बेला सविता चितवन घर गएकी थिइन् ।

बैशाख ३ गते सविता र योगेन्द्रको म्यारिस एनिभर्सरी थियो ।त्यसको भोलिपल्ट अर्थात वैशाख ४ गते सविता झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।सामाजिक सञ्जालमा जस्टिस फर सविता भाइरल भएपछि अब यो घटनाले कस्तो रुप लिने हो, यसै भन्न नसकिने देखिएको छ ।

फेसबुक प्रतिक्रिया