बरु कांग्रेससँग एकता हुन सक्ला माधव समूहसँग असम्भव छ :थापा

नेपाल दर्शन
२५ जेष्ठ २०७८, मंगलवार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल र झलनाथ खनालको समूहसँग एकता असम्भव रहेको बताएका छन् ।

बरु नेपाली कांग्रेससँग एकता गर्न सहज र सम्भव होला तर माधव–झलनाथ समूहसँग असम्भव भयो भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले माधव समूहसँग एकता असम्भव रहेको भन्दै जेठ २ रटानको अध्याय समेत समाप्त भएको दाबी गरेका छन् ।

एमालेमा बस्नै मन नभएकाहरूसँग एकताको प्रयास नगर्न समेत थापाले नेतृत्वलाई सुझाव दिएका छन् । माधव नेपालले मंगलबार जारी गरेको वक्तव्यले एकताको सम्भावना नदेखिएको निष्कर्षमा आफू पुगेको थापाको भनाइ छ ।

थापाले माधव नेपालका शर्त स्वीकार गरेर एकता नहुने भन्दै यी शर्तमा नेपालसँग होइन देउवाको कांग्रेससँग बरु एकता हुन सक्ने टिप्पणी गरेका हुन् । ‘यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको काँग्रेससँग बरू एकता होला । तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ,’ उनले भनेका छन्, ‘ल्याङल्याङ अति भयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोशिस छोडौं ।’

पार्टीभित्रको विवादका विषयमा वार्ता र छलफलका लागि शेरबहादुर देउवा र प्रचण्डसँग मन्त्रणा माग्ने नेता नेपालसँग एकताको सम्भावना सकिएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया