निषेधाज्ञा असारदेखि खुकुलो हुने

नेपाल दर्शन
२५ जेष्ठ २०७८, मंगलवार

काठमाडौं– कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि देशका विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा असारदेखि भने खुकुलो पारिँदै लगिने भएको छ। देशभर कोरोना संक्रमणको गति क्रमश: न्यून हुँदै गइरहेको भन्दै संघीय सरकारले नै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने तयारी थालेको हो। 

गृह मन्त्रालयले अहिले देशभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र संक्रमणको अवस्थाबारे समीक्षा भइरहेको जनाएको छ। अहिले जारी समीक्षा अनुसार संक्रमण दर घट्दै गइरहेको देखिएकाले सोहीअनुसार निषेधाज्ञा खुकुलो बनाइँदै लैजाने तयारी भएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्। 

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल अहिले निषेधाज्ञा जारी रहेका जिल्लाबाट त्यहाँ निषेधाज्ञाको कार्यान्वयन र संक्रमणको अवस्थाबारे रिपोर्टिङ लिने क्रम जारी रहेको बताउँछन्। 

गृह मन्त्रालयका प्रवक्ता दाहाल हाल देशका विभिन्न जिल्लामा ‘लकडाउन’ कै रुपमा निषेधाज्ञा जारी रहेको बताउँछन्। असारदेखि भने ‘लुज डाउन’ हुने उनको भनाइ छ। ‘अहिले निषेधाज्ञा जारी रहेका देशभरका जिल्लाबाट रिपोर्टिङ लिने काम भइरहेको छ। सबै जिल्लाबाट रिपोर्ट प्राप्त भएपछि निषेधाज्ञा खुकुलो बनाउनेबारे निर्णय हुनेछ,’ प्रवक्ता दाहाल भन्छन्,’  ‘केही सहजीकरण भने पक्कै हुनेछ।’

संक्रमणभन्दा संक्रमण मुक्त (निको) हुने दर दोब्बर हुँदै गएको र मृत्युदर समेत न्यून हुँदै गएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको दाहालले जानकारी दिए। 

फेसबुक प्रतिक्रिया